काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि लागेका आरोपबारे पार्टीको अनुशासन आयोगले छानबिन अघि बढाएको छ।
छानबिन टोलीको अनुरोधअनुसार ‘जनआस्था’ साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले सांसद सुनारसँग सम्बन्धित अडियो तथा लिखित विवरण अनुसन्धानका लागि उपलब्ध गराएका छन्।
रास्वपाको अनुशासन आयोगअन्तर्गत गठित छानबिन समितिका संयोजक हरिचन्द्र भट्टराईले ‘जनआस्था’लाई पत्र लेख्दै सांसद सुनारसँग सम्बन्धित सार्वजनिक समाचार तथा अडियो–भिडियो सामग्रीको सत्यतथ्य पत्ता लगाउन आवश्यक कागजात र प्रमाण माग गरेका थिए।
सोही पत्रको जवाफमा सम्पादक श्रेष्ठले सांसद सुनारसँग सम्बन्धित ‘बीप’ र ‘म्युट’ नगरिएका सक्कली अडियो तथा लिखित विवरण पेन्ड्राइभमा राखेर उपलब्ध गराएको जानकारी दिएका छन्।
श्रेष्ठले घटनाको निष्पक्ष अनुसन्धान गरी कुनै दबाब वा प्रभावमा नपरी सत्यतथ्यमा आधारित प्रतिवेदन सार्वजनिक हुने अपेक्षासमेत व्यक्त गरेका छन्।
सांसद सुनारमाथि विभिन्न आरोपसहितका समाचार तथा अडियो–भिडियो सामग्री सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएपछि रास्वपाले उनीमाथि अनुशासनात्मक छानबिन प्रक्रिया अघि बढाएको हो।