वीरगन्ज – नेकपा एमालेले मधेस प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको छ। एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोज यादवले आज प्रदेश प्रमुखलाई पत्र लेख्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका हुन्।
सरकार गठनका क्रममा सत्तारुढ दलहरूबीच भएको १५ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै एमालेले समर्थन फिर्ता लिएको पत्रमा उल्लेख छ।
एमालेले समर्थन फिर्ता लिएसँगै प्रदेश सरकारमा सहभागी पार्टीका चार जना मन्त्रीले पनि आजै राजीनामा दिएका छन्।
राजीनामा दिनेमा भौतिक पूर्वाधार विकासमन्त्री महम्मद समिर, खेलकुदमन्त्री लखनदास तत्मा, श्रममन्त्री शारदा थापा र शिक्षामन्त्री मनोजकुमार सिंह रहेका छन्। उनीहरूले मुख्यमन्त्री यादवसमक्ष राजीनामा बुझाएका हुन्।
एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव नेतृत्वको मधेस प्रदेश सरकार राजनीतिक संकटमा पर्ने देखिएको छ।

