काठमाडौँ– सभामुख डोलप्रसाद (डीपी) अर्याल र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बाउल्डिनबीच शिष्टाचार भेटवार्ता भएको छ।
भेटका क्रममा सभामुख अर्यालले भोटेकोशी बाढीबाट उत्पन्न विपद्का बेला नेपालप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गरेकोमा अमेरिकी सरकारलाई धन्यवाद व्यक्त गरे।
सो अवसरमा सभामुख अर्यालले तान्जानियाको आरुषामा हालै सम्पन्न अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको ‘जलवायुसम्बन्धी विपद्को सामना गर्न तथा हिमालय क्षेत्र र अन्य जोखिममा रहेका क्षेत्रको उत्थानशीलता सुदृढ गर्न तत्काल संसदीय पहल’ विषयक आपत्कालीन एजेन्डा दुईतिहाइभन्दा बढी मतले पारित भएको जानकारी गराए।
जलवायु परिवर्तनका कारण उत्पन्न विपद्बाट प्रभावित तथा जोखिममा रहेका क्षेत्रको क्षति न्यूनीकरण, विपद् पूर्वतयारी र उत्थानशीलता अभिवृद्धिका लागि प्रभावकारी पहल आवश्यक रहेकोमा उनले जोड दिए। साथै, यस क्षेत्रमा अन्तर्राष्ट्रिय तथा अन्तरसंसदीय सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने धारणा राखे।
भेटमा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध, आपसी सहयोग तथा दुवै देशका साझा चासोका विषयमा समेत विचार आदानप्रदान भएको थियो।