काठमाडौँ । धितोपत्र बजारमा मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक सामान्य वृद्धि हुँदै बन्द भएको छ। अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक ४.१२ अङ्कले बढेर २ हजार ५९९.९३ विन्दुमा पुगेको हो।
आज कुल ३५१ वटा कम्पनीका १ करोड ३५ लाख ५३ हजार ९७ कित्ता सेयर किनबेच भएका छन्। दिनभर भएको कारोबारमा कुल ४ अर्ब ७३ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।
कारोबार भएका कम्पनीमध्ये १०४ वटाको सेयर मूल्य बढेको छ भने १६७ वटाको मूल्य घटेको छ। त्यस्तै, सात वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
उपसूचकमा मिश्रित अवस्था
मंगलबार कारोबारमा आएका १३ वटा उपसूचकमध्ये पाँच वटामा वृद्धि भएको छ भने आठ वटा घटेका छन्। जीवन बीमा उपसूचक सर्वाधिक १.७७ प्रतिशतले बढेको छ।
आजको कारोबारमा सगरमाथा जलविद्युत कम्पनीका लगानीकर्ताले सर्वाधिक १२.४४ प्रतिशत नाफा कमाएका छन्। यसको विपरीत स्नो रिभर लिमिटेडका सेयरधनीले सर्वाधिक १५ प्रतिशत गुमाएका छन्।
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर लिमिटेड शीर्ष स्थानमा रहेको छ।