धादिङ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको गलौँदीमा त्रिशूली नदीको कटानका कारण भासिएर अवरुद्ध सडक आज आइतबार साँझसम्म खुलाउने लक्ष्यसहित मर्मत तथा कटिङको काम भइरहेको छ।
सडक खुलाउन ब्याक कटिङ, ग्रेड कटिङ र माटो हटाउने काम भइरहेको नागढुङ्गा–नौबिसे–मुग्लिङ सडक आयोजना, पूर्वी खण्डले जनाएको छ। सडकको तल्लो भाग बाढीले कटान गरेपछि सतह दबिएर चर्किएको प्रारम्भिक अनुमान छ।
आयोजनाका पूर्वी खण्ड प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार सडक करिब ८० मिटर चर्किएको छ। चर्किएको भागको दुवैतर्फ थप ४०–४० मिटर विस्तार गरी सडकको ग्रेड र मोड मिलाउनुपर्ने भएकाले करिब १६० मिटर क्षेत्रमा काम भइरहेको छ।
सडक खुलाउन छवटा एक्स्काभेटरसहित १० वटाभन्दा बढी मेसिन तथा उपकरण परिचालन गरिएको अधिकारीले बताए। ठेकेदार, परामर्शदाता र आयोजनाका प्राविधिकसहित स्थानीय तह, इलाका वन कार्यालय तथा जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर काम अघि बढाइएको उनले जानकारी दिए।
निर्माण व्यवसायी शहदेव खड्काका अनुसार सडक मर्मतमा हेभी इक्विपमेन्ट, करिब १० वटा टिप्पर र इन्जिनियरसहित ७० देखि ८० जना जनशक्ति परिचालन गरिएको छ। हिजैदेखि काम गर्ने तयारी भए पनि ग्यास बुलेट पड्किएको घटना र राति परेको पानीका कारण कटिङ गर्न कठिनाइ भएको उनले बताए।
ब्याक कटिङ र माटो हटाउने कामपछि सबग्रेड तथा सबबेस निर्माण गरेर सडकलाई यातायात सञ्चालनयोग्य बनाइने खड्काले जानकारी दिए। कामलाई तीव्रता दिन राति जेनेरेटरको सहायताले फ्लडलाइट जडान गरी काम गर्ने तयारीसमेत गरिएको छ।
अधिकारीले सम्भव भएसम्म आजै साँझसम्म सडक खुलाउने प्रयास भइरहेको बताए। निर्माण व्यवसायी खड्काले भने मौसम अनुकूल रहेमा भोलिदेखि यातायात सञ्चालन गर्न सकिने अपेक्षा व्यक्त गरे।