गोरखा । बुढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीले पदमार्ग र झोलुङ्गे पुलमा क्षति पुर्याएपछि गोरखाको मनास्लु संरक्षण क्षेत्रमा पदयात्रामा गएका विदेशी पर्यटक बीच बाटोमै रोकिएका छन् ।
मनास्लु संरक्षण क्षेत्र आयोजनाका संरक्षण अधिकृत भुवनराज ओझाका अनुसार सबै पर्यटक सुरक्षित स्थानमा रहेका छन् । उनीहरूको उद्धारका लागि आवश्यक पहल भइरहेको उनले बताए ।
मनास्लु संरक्षण क्षेत्रको प्रवेशद्वार मानिने चुमनुब्री गाउँपालिका–३ जगतमा १०० भन्दा बढी विदेशी पर्यटक रोकिएका छन् । शनिबार ९८ जना विदेशी पर्यटक संरक्षण क्षेत्रमा प्रवेश गरेको र रातिसम्म जगत आइपुगेका अन्य पर्यटक पनि त्यहीँ सुरक्षित रूपमा रहेको ओझाले बताए ।
‘पर्यटकलाई हेलिकप्टरमार्फत उद्धार गर्न पहल भइरहेको छ,’ उनले भने ।
बाढीले मनास्लु जाने मुख्य पदमार्ग र झोलुङ्गे पुललगायत संरचनामा क्षति पुर्याएपछि पर्यटकको आवतजावत अवरुद्ध भएको हो । चुमनुब्री गाउँपालिका–६ लोक्पामा पनि १७ जना पर्यटक उद्धारको प्रतीक्षामा छन् । त्यस्तै, चुम उपत्यकाको छेकम्पारमा ४० जना पर्यटक रहेको संरक्षण अधिकृत ओझाले जानकारी दिए ।
विदेशी पर्यटकसँगै भरिया र पथप्रदर्शकसमेत बाटोमै रोकिएका छन् । उनीहरूलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउन स्थानीय तह र सुरक्षा निकायसँग समन्वय भइरहेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए ।
‘मनास्लु संरक्षण क्षेत्रमा रहेका पर्यटकको यकिन तथ्याङ्क सङ्कलन गरी उनीहरूको उद्धार र सुरक्षित आवागमन सुनिश्चित गर्न पहल भइरहेको छ,’ उनले भने ।
मुख्य पर्यटकीय याममै प्राकृतिक विपद्का घटना बढ्दा पर्यटन क्षेत्रमा समेत असर परेको आचार्यले बताए ।