काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले जलवायु परिवर्तन र वातावरणीय संकटप्रति विश्वका शक्तिशाली राष्ट्रदेखि नेपालका राजनीतिक नेतृत्वसम्म गम्भीर नभएको बताएका छन्। वैज्ञानिक चेतावनी र प्रतिवेदनलाई बेवास्ता गर्ने प्रवृत्तिले पृथ्वीको भविष्य जोखिममा परेको उनको भनाइ छ।
शनिबार काठमाडौंमा नेपाल मधुमेही समाजको ३६औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै यादवले जलवायु परिवर्तनलाई सामान्य रूपमा लिने र यससम्बन्धी वैज्ञानिक तथ्यलाई अस्वीकार गर्ने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरे।
आफू राष्ट्रपति हुँदा चुरे संरक्षणलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले चुरे विनाश रोक्न सके हिमालको हिउँ, पहाडको पर्यावरण र तराईको उर्वर भूमि जोगाउन सकिने बताउँदै आएको स्मरण गरे। तर, सरकार र राजनीतिक दलहरूले यस विषयलाई गम्भीरतापूर्वक नलिएको उनको गुनासो थियो।
‘चुरे जोगाउनसके हिमालको हिउँ, पहाडको वातावरण र तराईको उर्वर भूमि संरक्षण गर्न सकिन्छ,’ यादवले भने।
उनले जलवायु परिवर्तनका जोखिमबारे वैज्ञानिकहरूले निरन्तर चेतावनी दिँदासमेत केही शक्तिशाली देशका नेताहरूले त्यसलाई अस्वीकार गर्नु दुर्भाग्यपूर्ण भएको बताए। वातावरण संरक्षणलाई प्राथमिकतामा नराख्दा त्यसको गम्भीर असर भावी पुस्ताले भोग्नुपर्ने उनको चेतावनी थियो।
कार्यक्रममा शताब्दी महिला नानिबाबा प्रधानलाई नेवारी संस्कृतिअनुसार कदरपत्रसहित सम्मान गरिएको थियो। आयोजकका अनुसार प्रधानले नेपाल मधुमेही समाजलाई सबैभन्दा बढी योगदान र अनुदान दिएकी छन्।