काठमाडौं। काठमाडौंको व्यस्त बबरमहल क्षेत्रमा निर्माणाधीन आकाशे पुल अन्तिम चरणमा पुगेको छ। सडक डिभिजन काठमाडौंले असोज २८ गतेदेखि पुल पैदलयात्रुका लागि सञ्चालनमा ल्याउने तयारी गरेको छ।
सडक डिभिजन काठमाडौंका अनुसार पुल निर्माणको भौतिक प्रगति ९२ प्रतिशत पुगेको छ। पुलको मुख्य संरचना निर्माण सम्पन्न भइसकेको छ भने रेलिङ राख्ने र भर्याङ जोड्ने काम भइरहेको छ।
सडक डिभिजन काठमाडौंका प्रमुख सुवोध देवकोटाका अनुसार २०८२ फागुन २१ गते सम्झौता भई सुरु भएको निर्माण निर्धारित समयभन्दा अगावै सम्पन्न गर्ने लक्ष्य राखिएको छ। पुल निर्माणको जिम्मा हाइटेक इन्जिनियरिङ वर्कस प्रालि, हेटौँडाले पाएको छ। आयोजनाको लागत २ करोड ५२ लाख ४५ हजार ९५३ रुपैयाँ छ।
सम्झौताअनुसार निर्माण सम्पन्न गर्ने अन्तिम म्याद २०८३ असोज ३० गतेसम्म छ। तर, सडक डिभिजनले त्यसअघि नै पुल सञ्चालनमा ल्याउने तयारी गरेको हो।
बबरमहल क्षेत्रमा सवारीसाधनको चाप र पैदलयात्रुको बाक्लो आवागमनलाई ध्यानमा राखेर निर्माण गरिएको पुल सञ्चालनमा आएपछि सडक पार गर्न सहज हुने र दुर्घटनाको जोखिम घट्ने अपेक्षा गरिएको छ।