मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–१२ स्थित सुनाता खोला नजिकै पहिरो खस्दा गुडिरहेको बोलेरो जिप पुरिएको छ। बिहीबार बिहान करिब १०ः३० बजे गमगढीबाट सुनातातर्फ गएर फर्किने क्रममा लु.प्र.००१०१ च १२११ नम्बरको बोलेरो जिपमाथि अचानक पहिरो खसेको प्रहरीले जनाएको छ।
जिप विशाल खत्रीले चलाइरहेका थिए। पहिरो खस्ने समयमा जिपमा भने कोही पनि सवार नरहेको प्रहरीले जनाएको छ। त्यसैले घटनामा मानवीय क्षति हुनबाट जोगिएको छ।
घटनाको जानकारी पाएपछि अस्थायी प्रहरी पोस्ट रोवाबाट प्रहरी सहायक निरीक्षक प्रकाशबहादुर सिंहको कमान्डमा प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो। टोली दिउँसो १ः२० बजे घटनास्थलमा पुगेर घटनाको अवस्थाबारे जानकारी लिएको प्रहरीले जनाएको छ।
पहिरोले पुरिएको जिप निकाल्ने प्रयास भइरहेको छ। घटनास्थल अस्थायी प्रहरी पोस्ट रोवाबाट करिब दुई घण्टा दक्षिणतर्फ रहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।