काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कुलेखानी जलविद्युत आयोजनाको बाँध सुरक्षित र स्थिर रहेको बताएका छन् ।
असोज ८ देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण कुलेखानी जलाशयको पानी सतर्कता तह पार गरेपछि बाँधको सुरक्षा र तल्लो तटीय क्षेत्रको जोखिमबारे चासो बढेको थियो । सोही अवस्थाबारे जानकारी लिन मन्त्री श्रेष्ठले शनिबार बाँध क्षेत्रको स्थलगत निरीक्षण गरेका हुन् ।
निरीक्षणपछि मन्त्री श्रेष्ठले बाँधको अवस्था सामान्य रहेको बताउँदै सर्वसाधारणलाई ढुक्क रहन आग्रह गरे । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठसहितको प्राविधिक टोलीले उनलाई बाँधको वर्तमान अवस्था र वर्षाका क्रममा अपनाइएको सावधानीबारे जानकारी गराएको थियो ।
विषम परिस्थितिमा प्राधिकरणले २४ सै घण्टा निगरानी राखेर कुशल व्यवस्थापन गरेको भन्दै मन्त्री श्रेष्ठले प्रशंसा गरे । पछिल्लो बाढीबाट विभिन्न जलविद्युत आयोजना तथा प्रसारण लाइनमा क्षति पुगे पनि कुलेखानी जलाशयमा पर्याप्त पानी सञ्चित रहेकाले आगामी सुक्खा याममा विद्युत आपूर्ति व्यवस्थापनमा सहयोग पुग्ने उनले बताए ।
सरकारले ऊर्जा सुरक्षालाई प्राथमिकतामा राखेर नियमित र गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्न प्रतिबद्ध रहेको उनको भनाइ छ ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले कुलेखानीलाई नेपाली विद्युत प्रणालीको ‘मेरुदण्ड’ का रूपमा व्याख्या गर्दै विद्युत् माग उच्च हुने समयमा ‘पिकिङ’का लागि यसको महत्वपूर्ण भूमिका रहने बताए । उनका अनुसार अहिले बाँधको अवस्था पूर्णतः सामान्य छ र विद्युत प्रणाली सुरक्षित छ ।