नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै भएको प्रदर्शनका क्रममा प्रहरीले १०० भन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ।
आम आदमी पार्टी (आप), विद्यार्थी संगठन, युवा कांग्रेस तथा नागरिक समाजका विभिन्न समूहको सहभागितामा भएको प्रदर्शनलाई लक्षित गर्दै दिल्ली प्रहरीले जन्तर–मन्तर क्षेत्रमा कडा सुरक्षा व्यवस्था गरेको थियो।
प्रदर्शनकारीहरूले निर्वाचन आयोगको कार्यशैली तथा स्पेसल इन्टेन्सिभ रिभिजन (एसआईआर) अन्तर्गत भइरहेको मतदाता नामावली पुनरावलोकन प्रक्रियाप्रति प्रश्न उठाउँदै आएका छन्। उनीहरूले एसआईआरका क्रममा योग्य मतदाताको नामसमेत मतदाता सूचीबाट हटाइएको आरोप लगाउँदै मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गरेका हुन्।
निर्वाचन आयोगले भने एसआईआरको उद्देश्य मतदाता सूचीमा रहेका दोहोरो, अयोग्य तथा अन्य त्रुटिपूर्ण नाम हटाएर सूचीलाई अद्यावधिक गर्नु रहेको बताउँदै आएको छ।
शुक्रबार बिहान प्रदर्शनकारीहरू जन्तर–मन्तरमा भेला हुन थालेपछि प्रहरीले उक्त क्षेत्रलाई चारैतिरबाट घेरा हालेको थियो। दिल्ली प्रहरीले प्रदर्शनका लागि अनुमति नदिएको तथा नयाँ दिल्ली जिल्लामा सार्वजनिक जमघट नियन्त्रणसम्बन्धी आदेश लागू गरिएको जनाएको थियो। त्यसका बाबजुद विभिन्न समूहका प्रदर्शनकारीहरू जन्तर–मन्तर पुग्ने प्रयास गरेका थिए।
१०० भन्दा बढी प्रदर्शनकारी नियन्त्रणमा
जन्तर–मन्तर क्षेत्र खाली गराउने क्रममा प्रहरीले १०० भन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको आयोजक तथा भारतीय सञ्चारमाध्यमले जनाएका छन्। नियन्त्रणमा लिइएकाहरूलाई दिल्लीका विभिन्न प्रहरी कार्यालयमा लगिएको बताइएको छ।
नियन्त्रणमा पर्नेमा आप कार्यकर्ता, युवा कांग्रेसका सदस्य तथा वामपन्थी विद्यार्थी संगठनका कार्यकर्ता रहेका छन्। आप दिल्लीका अध्यक्ष सौरभ भारद्वाजलाई समेत प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।
प्रदर्शनकारीहरूले जन्तर–मन्तर रोड हुँदै प्रदर्शनस्थलतर्फ अघि बढ्ने प्रयास गरेपछि प्रहरीले उनीहरूलाई पटक–पटक पछाडि हटाएको थियो। केही समूहले कनाट प्लेस, जनपथलगायत आसपासका क्षेत्रमा पनि प्रदर्शन जारी राखेका थिए। प्रदर्शनकारीहरूले ज्ञानेश कुमारको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए।
प्रदर्शनलाई ध्यानमा राख्दै दिल्ली प्रहरीले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो। जन्तर–मन्तर जाने प्रमुख सडकमा विभिन्न स्थानमा ब्यारेकेड राखिएका थिए। सम्भावित ठूलो भीड नियन्त्रणका लागि थप प्रहरी तथा अर्धसैनिक बलसमेत परिचालन गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
प्रहरीले प्रदर्शनस्थल तथा आसपासका क्षेत्रमा ड्रोनमार्फत निगरानीसमेत गरेको थियो। सुरक्षा व्यवस्थाको दिल्ली प्रहरीका वरिष्ठ अधिकारीहरूले निरीक्षण गरेका थिए। प्रदर्शनकारीलाई जन्तर–मन्तर पुग्न नदिन संसद् मार्ग, जनपथ र कनाट प्लेसलगायत क्षेत्रमा यातायात व्यवस्थामा समेत परिवर्तन गरिएको थियो।
११ मेट्रो स्टेसन बन्द
सुरक्षाका कारण दिल्ली मेट्रोका ११ वटा स्टेसनमा प्रवेश तथा बाहिरिने द्वार बन्द गरिएको जनाइएको छ। राजीव चौक, सेन्ट्रल सेक्रेटेरियट, पटेल चौक, नयाँ दिल्लीलगायत संवेदनशील क्षेत्रमा मेट्रो सेवा प्रभावित भएको थियो। केही स्टेसनमा भने इन्टरचेन्ज सुविधा सञ्चालनमा राखिएको बताइएको छ।
यसैबीच राष्ट्रिय जनता दल (आरजेडी) का सांसद मनोज झाले प्रदर्शनमाथि लगाइएको प्रतिबन्धको आलोचना गरेका छन्। महात्मा गान्धी जयन्तीका दिन विरोध प्रदर्शनमा रोक लगाउनु उचित नभएको उनको भनाइ थियो।
प्रदर्शनमा सहभागी नेताहरूले निर्वाचन आयोगको स्वतन्त्रता, मतदाता नामावलीको पारदर्शिता तथा निर्वाचन प्रक्रियामा जवाफदेहिताको माग गरेका छन्।
यही विषयलाई लिएर भारतका अन्य सहरमा समेत विरोध कार्यक्रम आयोजना गरिएको जनाइएको छ। दिल्लीको जन्तर–मन्तर र मुम्बईको शिवाजी पार्क आसपास प्रदर्शनको आह्वान गरिएको थियो।
एसआईआर प्रक्रियालाई लिएर भारतमा सत्तापक्ष र विपक्षबीच विवाद चर्किँदै गएको छ। विपक्षी दल तथा प्रदर्शनकारीहरूले यस प्रक्रियाबाट योग्य मतदाता प्रभावित हुन सक्ने आशंका व्यक्त गरेका छन्। निर्वाचन आयोग र भारतीय जनता पार्टीले भने अनियमितता तथा राजनीतिक पक्षपातसम्बन्धी आरोप अस्वीकार गर्दै आएका छन्।