बागलुङ । अविरल वर्षापछि आएको पहिरोमा परी बागलुङमा पछिल्लो दुई दिनमा १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार आइतबार मात्रै नौ जनाको मृत्यु भएको हो । शनिबार ताराखोला गाउँपालिकामा एक जनाको मृत्यु भएको थियो ।
प्रहरी प्रमुख फणिन्द्र प्रसाईँका अनुसार आइतबार तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको छ ।
तमानखोला गाउँपालिका–३ धर्नासुकमा पहिरोले घर पुरिँदा ८० वर्षीय बुद्धिराज घर्ती र ६६ वर्षीया भीमदेवी घर्तीको मृत्यु भएको छ । सोही क्षेत्रमा पहिरोले आठ वटा घरसमेत बगाएको प्रहरीले जनाएको छ ।
यस्तै, तमानखोला–४ सन्तरमा पहिरोले घर पुरिँदा ५० वर्षीय हस्तवीर श्रीपाली र ६५ वर्षीया उडिसरा श्रीपालीको मृत्यु भएको छ । हस्तवीरकी श्रीमती भने पहिरोमा परी बेपत्ता भएकी छन् ।
निसीखोला गाउँपालिका–३ जुग्जाखोलाको हदधारामा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षीया श्यामकुमारी विक, उनका १३ वर्षीय छोरा मनोज, आठ वर्षीय मुकेश र तीन वर्षीय निशान विक रहेका छन् ।
त्यसैगरी, निसीखोला गाउँपालिका–६ रङ्गिलमा पहिरोले गोठ पुरिँदा ५० वर्षीय सूर्यबहादुर घर्तीको मृत्यु भएको छ ।
यसअघि शनिबार ताराखोला गाउँपालिका–५ धस्मरमा पहिरोले घर पुरिँदा ५९ वर्षीय मनबहादुर रोकाको मृत्यु भएको थियो ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार पूर्वसूचना तथा सतर्कताका कारण थप मानवीय क्षति हुनबाट जोगिएको हो । पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि नेपाली सेनाको हेलिकप्टरसहित सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ ।