अमेरिका । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा अमेरिकाले ‘ताइवान स्वतन्त्रता’को विरोध गर्ने आफ्नो नीतिलाई निरन्तरता दिनुपर्ने बताएका छन्। उनले ताइवानसम्बन्धी विषयलाई सावधानीपूर्वक सम्हाल्न पनि अमेरिकालाई आग्रह गरेका छन्।
ह्वाइट हाउसमा भएको वार्ताका क्रममा सीले चीन र अमेरिकाबीच सहयोगलाई प्रमुख आधार बनाउँदै प्रतिस्पर्धालाई उचित सीमाभित्र राख्नुपर्नेमा जोड दिए। मतभेदलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्दै दुई देशबीच स्थिर सम्बन्ध अघि बढाउनुपर्ने उनको भनाइ थियो।
यसै वर्ष मेमा भएको समझदारीलाई कार्यान्वयन गर्दै आर्थिक तथा व्यापारिक सम्बन्धलाई स्थिर बनाउन दुवै पक्षले सहयोगका क्षेत्र विस्तार गर्न र विवादका विषय घटाउनुपर्ने सीले बताए।
कृत्रिम बौद्धिकता (एआई) का क्षेत्रमा चीन र अमेरिकासँग बलियो क्षमता रहेको उल्लेख गर्दै सीले एआईका जोखिम र सम्भावित फाइदाबारे निरन्तर संवाद आवश्यक रहेको बताए। एआईको दुरुपयोग रोक्न दुवै देशले संयुक्त प्रयास गर्नुपर्ने र यसको विकास मानवकेन्द्रित तथा मानव नियन्त्रणमा हुनुपर्नेमा उनले जोड दिए।
ताइवानको विषयमा सीले राष्ट्रिय एकीकरण र क्षेत्रीय अखण्डताको रक्षा गर्ने चीनको अडान स्पष्ट रहेको बताए। अमेरिकाले ‘ताइवान स्वतन्त्रता’को विरोध गर्ने नीतिमा कायम रहनुपर्ने उनको भनाइ थियो। यस्तो नीतिले चीन–अमेरिका रणनीतिक सहयोग र द्विपक्षीय सम्बन्धलाई अघि बढाउन आधार तयार गर्ने उनले बताए।
अमेरिकी राष्ट्रपति ट्रम्पले भने सीको अमेरिका भ्रमणलाई उत्कृष्ट भन्दै आर्थिक तथा व्यापारिक संवादलाई निरन्तरता दिनुपर्ने बताए। दुवै देशका टोलीबीच भएको पछिल्लो छलफलबाट नयाँ उपलब्धि हासिल भएको उल्लेख गर्दै उनले व्यापार सम्झौता सुधारका लागि वार्ता जारी राख्नुपर्ने धारणा राखे। एआईका क्षेत्रमा पनि संवाद र सहकार्य विस्तार गर्न दुवै नेता सहमत भएका छन्।
वार्तामा मध्यपूर्व, युक्रेन संकट र कोरियाली प्रायद्वीपको अवस्थालगायत अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयमा समेत विचार आदानप्रदान भएको थियो। सन् २०२६ मा आयोजना हुने एपेक आर्थिक नेताहरूको बैठक र जी–२० शिखर सम्मेलनमा एकअर्कालाई सहयोग गर्ने विषयमा पनि दुवै पक्षबीच सहमति भएको जनाइएको छ।
राष्ट्रपति सीको तीनदिने अमेरिका भ्रमणका क्रममा भएको यो भेट छ महिनाभन्दा कम अवधिमा दुई नेताबीच भएको दोस्रो भेट हो।