इलाम– सम्भावित भारी वर्षा र बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै मेची राजमार्ग र मेची करिडोरमा रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय इलामले सूचना जारी गर्दै असोज ८ गते बेलुका ७ बजेदेखि असोज ११ गते बिहान ५ बजेसम्म दुवै सडकमा रातिको समयमा सवारी आवागमन बन्द गर्ने जनाएको हो ।
जल तथा मौसम विज्ञान विभागले जारी गरेको मौसमसम्बन्धी बुलेटिनमा असोज ९ देखि ११ गतेसम्म देशभर भारी वर्षाको सम्भावना औँल्याइएपछि सुरक्षाका लागि यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए ।
‘मेची राजमार्ग र मेची करिडोर अहिले पनि जोखिमपूर्ण र जीर्ण अवस्थामा सञ्चालन भइरहेका छन्,’ प्रजिअ ढकालले भने, ‘भारी वर्षाको सम्भावना रहेकाले यात्रुको सुरक्षालाई ध्यानमा राखेर रातको समयमा दुवै सडक बन्द गरिएको हो ।’
जिल्ला प्रशासन कार्यालयले दुवै राजमार्गका साथै भित्री सडकमा समेत रातको समयमा सवारीसाधन सञ्चालन नगर्न आग्रह गरेको छ । प्रशासनले तोकिएको समय र व्यवस्थाको पालना गर्न पनि सबैलाई अनुरोध गरेको छ ।
अत्यावश्यक सेवाका लागि भने नजिकैको सुरक्षा निकायसँग समन्वय गरेर सवारीसाधन सञ्चालन गर्न सकिने प्रशासनले जनाएको छ ।
मेची राजमार्गले झापादेखि पूर्वी पहाडी जिल्ला इलाम र पाँचथर हुँदै ताप्लेजुङलाई जोड्छ । त्यस्तै, मेची करिडोरअन्तर्गत केचना–कञ्चनजङ्घा सडक झापाको केचनादेखि ताप्लेजुङको कञ्चनजङ्घासम्म जोड्ने निर्माणाधीन मार्ग हो । उक्त सडकको इलाम खण्डमा अहिले निर्माण कार्य जारी रहेको छ ।