लन्डन– म्यानचेस्टर सिटीका १७ वर्षीय युवा फरवार्ड फ्लोयड साम्बाले सिनियर टोलीबाट डेब्यु खेलमै दुई गोल गर्दै उत्कृष्ट प्रदर्शन गरेका छन्। उनको दुई गोलको मद्दतमा सिटीले काराबाओ कपको तेस्रो चरणमा नर्विच सिटीलाई ५–० ले पराजित गरेको हो।
इत्तिहाद स्टेडियममा बिहीबार राति भएको खेलमा साम्बाले प्रभावशाली प्रदर्शन गर्दै टोलीको फराकिलो जितमा महत्वपूर्ण योगदान दिए। सिनियर टोलीमा पहिलोपटक अवसर पाएका उनले डेब्यु खेलमै दुई गोल गरेपछि उनको चर्चा चुलिएको छ।
यसअघि म्यानचेस्टर युनाइटेडका १५ वर्षीय चर्चित फरवार्ड जेजे ग्याब्रिएलले क्लब छाड्न लागेको खबरले चर्चा पाइरहेका बेला साम्बाको प्रदर्शनले पनि युवा खेलाडीप्रति ध्यान तानेको छ।
गत सिजन सिटीको ‘अन्डर–१८’ टोलीबाट प्रभावशाली प्रदर्शन गरेका साम्बालाई नयाँ प्रशिक्षक एन्जो मारेस्काले यसै समरमा सिनियर टोलीमा बढुवा गरेका थिए। डेब्यु खेलमै दुई गोल गरेपछि उनले आफ्नो व्यावसायिक यात्राको सुरुवात उत्साहजनक बनेको बताएका छन्।
बिबीसी रेडियोसँग कुरा गर्दै साम्बाले सिनियर टोलीबाट पहिलोपटक मैदानमा उत्रिने अवसर पाउने जानकारी भए पनि यस्तो प्रभावशाली डेब्युको अपेक्षा नगरेको बताए।
“सिनियर टोलीबाट पहिलोपटक मैदान उत्रिने मौका पाउँछु भन्ने थाहा थियो, तर यस्तो डेब्यु होला भनेर सोचेको थिइनँ,” उनले भने, “यो सुरुवात मात्र हो। अझै लामो यात्रा बाँकी छ। टोलीका वरिष्ठ खेलाडीहरूको सल्लाह र विश्वासले मलाई मैदानमा खुलेर खेल्न तथा दुई गोल गर्न मद्दत गर्यो।”