गण्डकी । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले दुबई–पोखरा–दुबई नियमित व्यावसायिक उडान सुरु गरेसँगै पोखरेलीमा उत्साह छाएको छ । बुधबारदेखि सुरु भएको नियमित उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्नुका साथै पर्यटन, व्यापार तथा यात्रु आवागमनमा नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
लामो समयदेखि अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार दिउँसोदेखि नै चहलपहल बढेको थियो । पहिलो उडानबाट पोखरा आउने यात्रुको स्वागत तथा दुबई प्रस्थान गर्ने यात्रुको बिदाइका लागि विमानस्थलमा आफन्त, स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी र पर्यटन व्यवसायीको उपस्थिति थियो ।
विदेशबाट सिधै आफ्नो गृहसहर आउन पाउँदा यात्रुहरू खुसी देखिन्थे भने परिवार र आफन्तसँग बिदाइ हुनेहरू भावुक बनेका थिए । फ्लाई दुबईको जहाज हेर्नसमेत सर्वसाधारण विमानस्थल परिसरमा पुगेका थिए ।
यसअघि विभिन्न वायुसेवा कम्पनीले पोखराबाट अन्तर्राष्ट्रिय चार्टर उडान गरे पनि नियमित व्यावसायिक उडान सञ्चालन हुन सकेको थिएन । फ्लाई दुबईले दैनिक उडान तालिकासहित सेवा सुरु गरेपछि पोखरावासीको लामो समयदेखिको प्रतीक्षा पूरा भएको छ ।
पोखरा महानगरपालिका–३२ का कृष्णबहादुर खड्का पहिलो उडानबाट दुबई हुँदै पोखरा आइपुग्नुभएको थियो । उहाँले जहाजबाट आफ्नो गाउँ र रूपाताल हेर्दै पोखरा ओर्लन पाउँदा विशेष अनुभूति भएको बताए ।
“विदेशबाट आउँदा सिधै पोखरा आएर घर जान पाइने योभन्दा खुसीको कुरा अरू के हुन सक्छ ? लामो समयपछि हामी पोखरेलीको सपना पूरा भएको छ”, उहाँले भन्नुभयो ।
पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि स्थानीयवासीले गरेको लामो सङ्घर्ष स्मरण गर्नुभयो । उहाँले विमानस्थल निर्माणका लागि आन्दोलन र अनशनसमेत गर्नुपरेको बताउँदै नियमित उडान सुरु हुनु गर्वको विषय भएको उल्लेख गरे ।
“पचास वर्षदेखिको हाम्रो सपना पूरा भएको छ । विमानस्थल बनाउन धेरै सङ्घर्ष गर्यौँ, अनशन बस्यौँ”, उहाँले भन्नुभयो, “अन्ततः पोखराबाट दुबई नियमित उडान सुरु भएको छ । यसलाई दिगो र प्रभावकारी बनाउने जिम्मेवारी पनि हाम्रै काँधमा आएको छ ।”
नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले दुबईसँगको उडानले पोखरालाई अन्य अन्तर्राष्ट्रिय सहरसँग जोड्न सहयोग पुग्ने बताए । दुबईलाई ट्रान्जिट बनाएर विश्वका विभिन्न मुलुकबाट पोखरा आउन सहज हुने उहाँको भनाइ छ ।
“यसले पर्यटनसँगै आर्थिक क्षेत्रमा पनि नयाँ अवसर सिर्जना गरेको छ”, उहाँले भन्नुभयो, “यो उडान सफल हुनेमा हामी ढुक्क छौँ । यात्रु र पर्यटक आकर्षित गर्न पर्यटन बोर्डले दुबईलगायत अन्तर्राष्ट्रिय सहरमा प्रवर्द्धनात्मक कार्यक्रम गर्ने तयारी गरिरहेको छ ।”
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा–दुबई सिधा उडान सुरु हुनु पोखरेलीका लागि खुसी र गौरवको विषय भएको बताउनुभयो । उहाँले यसबाट पर्यटन, व्यवसाय, रोजगारी र समग्र आर्थिक गतिविधिमा सकारात्मक अवसर सिर्जना हुने अपेक्षा व्यक्त गरे।
“यो एउटा जहाजको उडान मात्र होइन, पोखराको अन्तर्राष्ट्रिय आकाशतर्फको नयाँ यात्राको सुरुआत पनि हो”, उहाँले भने ।
पहिलो उडानमा ११३ यात्रु पोखरा, १५२ यात्रु लिएर दुबई फर्कियो
फ्लाई दुबईको बोइङ ७३७ म्याक्स ८ विमान दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे चार घण्टाको उडानपछि बुधबार साँझ ६ः१९ बजे पोखरा अवतरण गरेको थियो । एक सय १३ जना यात्रु लिएर आएको विमानलाई पानीको फोहराले स्वागत गरिएको थियो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार विमान साँझ ७ः५५ बजे एक सय ५२ जना यात्रु लिएर दुबई फर्किएको थियो ।
उहाँले नियमित उडान सुरु भएसँगै पोखरासहित समग्र गण्डकी प्रदेशको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार हुने, पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने र यात्रु आवागमन सहज हुने बताउनुभयो । यसअघि सुरु भएका अन्तर्राष्ट्रिय उडान नियमित हुन नसकेको अवस्थामा फ्लाई दुबईको सेवाले नयाँ आशा जगाएको उहाँको भनाइ छ ।
पोखराबाट दुबई हुँदै युरोप, अमेरिका तथा अन्य अन्तर्राष्ट्रिय गन्तव्यमा जाने यात्रुलाई समेत यस उडानले सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ । यात्राको समय र खर्च घटाउन पनि यसले सहयोग पुग्ने बताइएको छ ।
पहिलो उडानबाट पोखरा आएका यात्रुलाई महानगर प्रमुख आचार्य, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक डा. मुकेश डङ्गोल, विमानस्थलका पदाधिकारी तथा कर्मचारी र पर्यटन व्यवसायीले स्वागत गरेका थिए । पोखराबाट दुबई जाने यात्रुलाई पनि बिदाइ गरिएको थियो ।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीकी अध्यक्ष सङ्गीता पौडेलले नेपाल पर्यटन बोर्डको सहयोगमा यात्रुलाई विशेष उपहार प्रदान गरिएको जानकारी दिनुभयो । नाट्टामा आबद्ध व्यवसायी तथा होटल र रेस्टुराँ सञ्चालकले पनि उपहारसहित आफ्ना व्यवसायका प्रवर्द्धनात्मक सामग्री वितरण गरेका थिए ।
उहाँका अनुसार फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई लक्षित गरी ल्याइएका विभिन्न छुट योजनाबारे पनि जानकारी गराइएको थियो । पोखरा–दुबई उडानले पोखरा मात्र नभई समग्र नेपालको पर्यटन क्षेत्रमा लाभ पुर्याउने उहाँको भनाइ छ ।
होटल र रेस्टुराँमा छुट योजना
नियमित उडानबाट पोखरा आउने पर्यटकलाई आकर्षित गर्न यहाँका होटल तथा रेस्टुराँ व्यवसायीले विभिन्न छुट योजना सार्वजनिक गरेका छन् ।
होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार फ्लाई दुबईबाट आउने यात्रु तथा पर्यटकलाई पहिलो तीन महिनासम्म पोखराका होटलमा २५ प्रतिशत छुट दिने व्यवस्था गरिएको छ । हालसम्म ५० वटा होटल उक्त योजनामा सहभागी भएका छन् । छुट योजनामा पर्यटकस्तरीय होटलका साथै केही तारे होटलसमेत समावेश छन् ।
पहिलो उडानबाट दुबई हुँदै पोखरा आएका यात्रुका लागि एक रातको आवास र भोलिपल्ट बिहानको खाजा निःशुल्क उपलब्ध गराइएको थियो ।
त्यसैगरी, रेस्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराले संस्थामा आबद्ध रेस्टुराँमा फ्लाई दुबईबाट आउने यात्रुलाई १५ देखि २० प्रतिशतसम्म छुट दिने जनाएको छ ।
औपचारिक स्वागत समारोह रद्द
फ्लाई दुबईले दुबई–पोखरा–दुबई उडान सुरु गरेको अवसरमा पोखरामा आयोजना गर्ने भनिएको औपचारिक स्वागत समारोह भने संयुक्त अरब इमिरेट्स (युएई) का राजपरिवारका सदस्य शेख अहमद बिन राशिद अल मक्तुमको निधनका कारण रद्द गरिएको थियो ।
नियमित उडान सुरु भएपछि विदेशी पर्यटक पोखराका साथै आसपासका पर्यटकीय गन्तव्यमा घुमफिर गर्न सिधै पोखरा आउन सक्नेछन् । वैदेशिक रोजगारी, अध्ययन तथा भ्रमणका लागि अरब मुलुक र अन्य देशमा जाने नेपाली यात्रुलाई पनि यसले सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ ।
विमानस्थल सञ्चालनमा आएको साढे तीन वर्षपछि नियमित अन्तर्राष्ट्रिय उडान
सन् २०२३ जनवरीदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन । सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने उल्लेख गरेको केही समयपछि फ्लाई दुबईले नियमित उडान सुरु गरेको हो ।
दुबई–पोखरा–दुबई उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठ २५ गते फ्लाई दुबईलाई अनुमति दिएको थियो ।
अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई आकर्षित गर्न सरकारले विमानस्थलमा लाग्ने विभिन्न शुल्कमा छुट दिने निर्णयसमेत गरेको छ । विसं २०८५ भदौ मसान्तसम्म पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिइएको छ भने ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
फ्लाई दुबईको उडान तालिकाअनुसार विमान हरेक दिन साँझ ६ः१५ बजे पोखरा अवतरण गर्ने र साँझ ७ः१५ बजे दुबईका लागि प्रस्थान गर्नेछ ।
विश्वव्यापी हवाई ट्रान्जिट केन्द्रका रूपमा रहेको दुबईसँगको सिधा उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडेको छ । फ्लाई दुबईले विश्वका एक सय २० भन्दा बढी गन्तव्यमा उडान गर्दै आएको छ ।
फ्लाई दुबई र इमिरेट्स एयरलाइन्सबीचको रणनीतिक कोडसेयर साझेदारीअन्तर्गत सञ्चालन भएको यस सेवाबाट पोखरादेखि अस्ट्रेलिया, युरोप, अमेरिका तथा अन्य अन्तर्राष्ट्रिय सहरमा जाने यात्रुले एउटै टिकटमार्फत यात्रा गर्न सक्ने बताइएको छ । यसले यात्रुलाई गन्तव्यसम्म पुग्न सहज बनाउने अपेक्षा गरिएको छ ।