सुनसरी– सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहराबाट प्रहरीले साढे चार क्विन्टल गाँजासहित एउटा एम्बुलेन्स नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार प्रहरीचौकी तरहराबाट खटिएको टोलीले गए राति पूर्व–पश्चिम कोशी लोकमार्गअन्तर्गत तरहरा–पानीपिया जङ्गलबाट बा२च ९५७३ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिएको हो।
‘त्रिवेणी सांस्कृतिक समूह’ लेखिएको उक्त एम्बुलेन्स शङ्कास्पद अवस्थामा देखिएपछि प्रहरीले जाँच गरेको थियो। जाँचका क्रममा एम्बुलेन्सभित्र प्लास्टिकका पोकामा लुकाएर राखिएको अवस्थामा गाँजा फेला परेको सूचना अधिकारी खड्काले जानकारी दिए।
प्रहरीले बरामद गाँजा र एम्बुलेन्सलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय इटहरीमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
फरार रहेका एम्बुलेन्स चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।