झापा । झापामा गत भदौ महिनामा २५ वटा विपद्का घटना हुँदा १९ लाख ४५ हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको छ । ती घटनामा मानवीय क्षति नभए पनि एक जना घाइते भएका छन् भने ६९ जनालाई प्रहरीले सकुशल उद्धार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार उक्त महिनामा बाढी तथा पहिरोका घटना नभए पनि जङ्गली जनावरको आक्रमण प्रमुख विपद्का रूपमा देखिएको छ ।
भदौ महिनामा भएका कुल २५ विपद्का घटनामध्ये १७ वटा जङ्गली जनावरको आक्रमणसँग सम्बन्धित रहेका छन् । जनावरको आक्रमणबाट एक जना घाइते भएका छन् भने ५५ जनाको उद्धार गरिएको छ । उक्त घटनाबाट छ लाख ३५ हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रहरीको तथ्याङ्क छ ।
यसैगरी, जिल्लाका विभिन्न स्थानमा सात वटा आगलागीका घटना भएका छन् । आगलागीबाट १२ लाख १० हजार रुपैयाँ बराबरको क्षति भएको छ । त्यस्तै, चट्याङका कारण एक लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रहरीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक अवाले विपद्का समयमा तत्काल उद्धार तथा राहतका कार्य सञ्चालन गर्न प्रहरी टोलीलाई चौबीसै घण्टा उच्च सतर्क अवस्थामा राखिएको जानकारी दिए ।