काठमाडौँ । डाटा सेन्टरमा देखिएको प्राविधिक समस्याका कारण नेपाल स्टक एक्सचेन्ज (नेप्से) को नियमित धितोपत्र कारोबार स्थगित भएपछि नेपाल धितोपत्र बोर्डले घटनाको अध्ययन तथा जाँचबुझ गरी आवश्यक सुधारका उपायसहितको प्रतिवेदन पेस गर्न नेप्सेलाई निर्देशन दिएको छ।
धितोपत्र दलाल व्यवसायीका रूपमा कारोबार गर्न अनुमति प्राप्त ९२ कम्पनीमध्ये ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर रहेको डाटा सेन्टरमा २०८३ असोज ४ गते बिहानदेखि प्राविधिक समस्या देखिएको थियो। उक्त समस्या तत्काल समाधान हुन नसकेपछि कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने जोखिमलाई मध्यनजर गर्दै नेप्सेले असोज ५ गतेको नियमित कारोबार स्थगित गरेको थियो।
कारोबार नै स्थगित गर्नुपर्ने अवस्था उत्पन्न भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बोर्डले घटनाको आवश्यक अध्ययन तथा जाँचबुझ गरी भविष्यमा यस्ता समस्या दोहोरिन नदिन अपनाउनुपर्ने सुधारका उपायसहितको प्रतिवेदन असोज १२ गतेभित्र पेस गर्न नेप्सेलाई निर्देशन दिएको हो।
बोर्डका प्रवक्ता निरञ्जय घिमिरेका अनुसार घटनाको प्राविधिक पक्ष र कारोबार स्थगित गर्नुपर्ने अवस्थाको कारण पहिचान गर्न उपकार्यकारी निर्देशकको नेतृत्वमा पाँच सदस्यीय निरीक्षण टोलीसमेत खटाइएको छ। टोलीले डाटा सेन्टरमा देखिएको प्राविधिक समस्या, त्यसले पारेको प्रभाव तथा कारोबार प्रणालीमा पर्न सक्ने जोखिमलगायत विषयमा अध्ययन गर्नेछ।
यसअघि स्टक ब्रोकर एसोसिएसन अफ नेपालले पनि डाटा सेन्टरको समस्या समाधान नभएको अवस्थामा नियमित कारोबार सत्र स्थगित गर्न नेप्सेसमक्ष निवेदन दिएको थियो। सोही परिस्थितिलाई ध्यानमा राख्दै नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) बमोजिम कारोबार स्थगित गरेको जनाएको छ।
बोर्डले निरीक्षण टोलीबाट प्राप्त सुझाव तथा प्रतिवेदनका आधारमा नेपालको धितोपत्र बजारलाई स्वस्थ, सुरक्षित र पारदर्शी बनाउन आवश्यक सुधारका कार्य अघि बढाउने जनाएको छ।
प्रवक्ता घिमिरेले धितोपत्र बजारको कारोबार प्रणालीको विश्वसनीयता र सुरक्षालाई प्राथमिकतामा राख्दै प्राविधिक जोखिम पहिचान तथा न्यूनीकरणका लागि आवश्यक कदम चालिने जानकारी दिए।