हुम्ला । कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ स्थित रिप नजिकैको छारेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। दुई स्थानबाट पहिरो खसेपछि करिब एक सय मिटर सडकमा ठूला ढुङ्गा थुप्रिएका छन्।
पहिरो खस्ने क्रम जारी रहनुका साथै सडकमा थुप्रिएका ठूला ढुङ्गा सामान्य स्काभेटरबाट हटाउन नसकिने भएपछि विस्फोट गराएर फुटाउने तयारी गरिएको छ।
हिल्सा–सिमकोट सडक आयोजनाका प्रमुख बेलबहादुर नेपालीका अनुसार ढुङ्गा हटाउन ड्रिल मेसिन प्रयोग गरी ब्लास्टिङ गर्ने तयारी भइरहेको छ। उहाँले ठूला ढुङ्गा भएकाले स्काभेटरबाट मात्रै हटाउन सम्भव नदेखिएको बताउनुभयो।
विस्फोटनका लागि आवश्यक तयारी भइरहेको भए पनि मौसम र अन्य प्राविधिक अवस्थाले साथ नदिए सडक सञ्चालनमा ल्याउन थप एक सातासम्म लाग्न सक्ने आयोजना प्रमुख नेपालीले जानकारी दिनुभयो। त्यसका लागि आवश्यक बजेटको व्यवस्थापनसमेत गर्नुपर्ने उहाँको भनाइ छ। सडक खुलाउन आयोजना कार्यालयले निरन्तर काम गरिरहेको उहाँले बताउनुभयो।
सडक अवरुद्ध भएपछि यात्रुहरू जोखिम मोलेर वैकल्पिक बाटोबाट आवतजावत गर्न बाध्य भएका छन्। स्थानीय कमल बुढाका अनुसार यात्रुहरूले सडकको भिरतर्फ डोरीको सहायताले भर्याङ बनाएर वारपार गरिरहेका छन्।
ज्ञानोदय माध्यमिक विद्यालयका शिक्षक रिमिलाल बुढाले पनि निकै कठिन यात्रा गरेर सदरमुकाम सिमकोट पुगेको बताउनुभयो। जिल्ला प्रशासन कार्यालयलगायत विभिन्न सरोकारवाला निकायसँग सम्पर्क गर्दा पनि समस्या समाधानको उपाय ननिस्किएपछि अन्तिम विकल्पका रूपमा डोरी र भर्याङको सहायताले भिर पार गर्नुपरेको उहाँले सुनाउनुभयो।
उहाँले भन्नुभयो, “जिल्ला प्रशासन कार्यालयलगायत विभिन्न सरोकारवाला निकायसँग सम्पर्क गर्दा उपाय नलागेपछि हामीले अन्तिम विकल्पका रूपमा भर्याङ लगाएर डोरीको सहायतामा भिर छिचोलेर सारै कष्टकर र जोखिमपूर्ण यात्रा गर्दै सदरमुकाम सिमकोट पुगेका हौँ।”
सडक अवरुद्ध हुँदा कर्णाली करिडोर हुँदै हुम्ला आवतजावत गर्ने यात्रु तथा सवारीसाधन प्रभावित भएका छन्। शुक्रबार दिउँसोदेखि सडक बन्द भएपछि सिमकोट हुँदै सुर्खेत र नेपालगञ्ज जाने तथा नेपालगञ्ज हुँदै सिमकोट भएर कैलाश मानसरोवर दर्शनका लागि जाने यात्रुहरू अलपत्र परेका छन्।
आयोजना प्रमुख नेपालीले सडक खुलाउन प्राविधिक टोली र आवश्यक उपकरण परिचालन भइरहेको जनाउँदै यात्रुहरूलाई जोखिमपूर्ण भिरबाट आवतजावत नगर्न आग्रह गर्नुभएको छ।