म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थललाई आन्तरिक आम्दानीको प्रमुख स्रोत बनाएको छ । गाउँपालिकाले पर्यटकीयस्थलमा प्रवेश शुल्क सङ्कलन तथा चिया पसल सञ्चालनका लागि आय ठेक्का लगाएर चालु आर्थिक वर्ष २०८३/८४ मा रु एक करोड ३० लाख ६६ हजार ५५ आम्दानी गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेका अनुसार पुनहिल, पाउद्वार तातोपानी कुण्ड, रातोपानी कुण्ड र रुप्से झरनाको आय ठेक्का सम्झौता भइसकेको छ । भुरुङ–तातोपानी कुण्डमा प्रवेश शुल्क सङ्कलन तथा चमेनागृह सञ्चालनका लागि न्यूनतम रु नौ लाख ५० हजार कायम गरी आह्वान गरिएको ठेक्काको प्रस्ताव भने मूल्याङ्कनको चरणमा रहेको उहाँले जानकारी दिए ।
पूर्वाधार निर्माणको तयारीमा रहेको भुरुङ–तातोपानी कुण्डलाई असोज र कात्तिक महिनामा सञ्चालन गर्ने उद्देश्यले ठेक्का आह्वान गरिएको हो ।
गाउँपालिकाका अनुसार अन्नपूर्ण गाउँपालिका–६ स्थित पुनहिलमा प्रवेश शुल्क सङ्कलन र चिया पसल सञ्चालनका लागि घोडेपानीको सन्नी होटलले रु ७१ लाख ५०० मा ठेक्का सम्झौता गरेको छ । त्यस्तै, पाउद्वार तातोपानी कुण्डको रु ५० लाख १० हजार, रातोपानी कुण्डको रु चार लाख ५०० र रुप्से झरनामा प्रवेश शुल्क सङ्कलनका लागि रु पाँच लाख ५५ हजार ५५५ मा ठेक्का सम्झौता भएको छ ।
यी पर्यटकीयस्थलका लागि पुनहिलमा रु ५२ लाख ५० हजार, पाउद्वार तातोपानी कुण्डमा रु २७ लाख ५० हजार, रातोपानी कुण्डमा रु चार लाख र रुप्से झरनामा प्रवेश शुल्क सङ्कलन गर्न रु दुई लाख न्यूनतम ठेक्का रकम निर्धारण गरिएको थियो ।
ठेक्कामा न्यूनतम रकमभन्दा थोरै मात्र बढी कबोल गरेका व्यवसायीले अग्रिम रूपमा राजस्व जम्मा गरेपछि कानुनअनुसार १० प्रतिशत छुट पाएका छन् । सेकार्कु तातोपानी, नारच्याङ र महभिर झरनामा क्यान्टिन सञ्चालनका लागि भने कसैको पनि प्रस्ताव परेको छैन ।
गाउँपालिकाले खोप्रा क्षेत्रमा सञ्चालित होटलबाट वार्षिक व्यवसाय करबापत प्रतिहोटल रु ३० हजार तथा सार्वजनिक जग्गा प्रयोग गरेबापत रु ३६ हजार बहालबटौली कर सङ्कलन गर्दै आएको छ । मोहरेडाँडा, रुप्से छहरा, घोरेपानी, अन्नपूर्ण आधार शिविरको छोटेपा र हुमखोलालगायतका स्थानमा रहेका होटल, रेष्टुरेन्ट तथा कफी पसलबाट पनि व्यवसाय कर उठाउने गरिएको छ ।
गत आर्थिक वर्ष २०८२/८३ मा रु दुई करोड १२ लाख ७५ हजार आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको गाउँपालिकाले पर्यटकीयस्थलबाट रु एक करोड १५ लाख आम्दानी गरेको थियो । चालु आर्थिक वर्षमा रु दुई करोड ५० लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य राखिएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । उक्त लक्ष्य हासिल गर्न पर्यटकीयस्थलबाट प्राप्त हुने राजस्वको योगदान प्रमुख रहने उहाँको भनाइ छ ।
पुनहिल र भुरुङ–तातोपानी कुण्डमा नेपाली नागरिकका लागि प्रतिव्यक्ति रु ५० र विदेशी पर्यटकका लागि रु १५० प्रवेश शुल्क निर्धारण गरिएको छ ।
घोडेपानी, पुनहिल, मोहरेडाँडा, खोप्रा, खयरलेक, रुप्से, नारच्याङ र महभिर झरनालगायतका पर्यटकीयस्थल तथा विभिन्न स्थानका तातोपानी कुण्ड रहेको अन्नपूर्ण गाउँपालिकाको वडा नं ४ नारच्याङमा विश्वको दशौँ तथा नेपालको नवौँ अग्लो अन्नपूर्ण प्रथम हिमाल अवस्थित छ ।
गाउँपालिकाकी उपाध्यक्ष दिवा तिलिजा पुनले पर्यटकीयस्थलको पूर्वाधार विकास, प्रचारप्रसार र प्रवर्द्धनमार्फत स्थानीयवासीको जीवनस्तर सुधार गर्नुका साथै गाउँपालिकाको आन्तरिक राजस्व वृद्धि गर्ने कामलाई प्राथमिकता दिइएको बताए ।
उहाँका अनुसार चालु आर्थिक वर्षमा भुरुङ–तातोपानी कुण्डमा पूर्वाधार निर्माणका लागि रु दुई करोड ३० लाख विनियोजन गरिएको छ । उक्त योजना कार्यान्वयनको तयारीमा रहेको उहाँले जानकारी दिए ।