इन्डोनेसिया। इन्डोनेसियाले बढ्दो फोहोर व्यवस्थापन चुनौती घटाउँदै हरित ऊर्जा उत्पादन गर्ने उद्देश्यले पश्चिम जाभाको बोगोरमा ठूलो ‘वेस्ट–टु–एनर्जी’ परियोजनाको निर्माण सुरु गरेको छ।
‘बोगोर राया–१ वेस्ट–टु–एनर्जी’ परियोजनाको बोगोर रीजेन्सीको चिबुङबुलाङ जिल्लामा शिलान्यास गरिएको हो। इन्डोनेसियाको सार्वभौम सम्पत्ति कोष दानान्तारा र सरकारको सहकार्यमा निर्माण हुने परियोजनामा चिनियाँ वातावरणीय कम्पनी झेजियाङ वेमिङ इन्भाइरोन्मेन्ट प्रोटेक्सन कम्पनी लिमिटेडको प्रविधि प्रयोग गरिनेछ।
परियोजनामा करिब २.८ ट्रिलियन इन्डोनेसियाली रुपिया (१५ करोड ७८ लाख अमेरिकी डलर) लगानी हुने जनाइएको छ। फोहोर जलाएर ऊर्जा उत्पादन गर्ने दुईवटा लाइन निर्माण गरिनेछन्, जसले वार्षिक ५ लाख ४७ हजार ५०० टन फोहोर प्रशोधन गर्नेछन्।
दानान्तारा इन्भेस्टमेन्ट म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत पान्डु स्यारिरका अनुसार परियोजनाबाट ग्रेटर बोगोर क्षेत्रका १ लाखभन्दा बढी घरपरिवारलाई विद्युत् पुग्नेछ। उनका अनुसार परियोजनाले बोगोर सहर र बोगोर रीजेन्सीबाट उत्पादन हुने प्रशोधनयोग्य फोहोरको करिब ४५ प्रतिशत व्यवस्थापन गर्नेछ।
परियोजनाबाट करिब १ हजार २०० रोजगारी सिर्जना हुने तथा ल्यान्डफिलमाथिको निर्भरता घट्ने अपेक्षा गरिएको छ। ल्यान्डफिलबाट हुने फोहोरजन्य उत्सर्जन ८० प्रतिशतसम्म घट्नुका साथै वार्षिक करिब ६ लाख ४० हजार टन कार्बन डाइअक्साइड बराबरको उत्सर्जन कटौती हुने अपेक्षा गरिएको छ।