काठमाडौं । पहिरो तथा बाढीका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडकमा यातायात प्रभावित भएको हो ।
कोशी प्रदेशअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका–७ झोलुङ्गेपुल क्षेत्रमा मदन भण्डारी लोकमार्ग एकतर्फी रूपमा सञ्चालनमा रहेको छ ।
बागमती प्रदेशको काभ्रेपलाञ्चोकमा कुशकोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा पहिरोको जोखिमका कारण सवारीसाधन सञ्चालनमा समस्या भइरहेको छ । रसुवामा मुख्य राजमार्ग पूर्णरूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।
नुवाकोटको शिवपुरी गाउँपालिका–८ ठूलखोलास्थित टोखा–छहरे सडकखण्डमा बाढी तथा पहिरोको सम्भावित जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । विदुर नगरपालिका–१० सिमटारमा पासाङल्हामु सडकखण्ड पनि पूर्णरूपमा अवरुद्ध भएको छ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिकाका विभिन्न स्थानमा पृथ्वी लोकमार्ग एकतर्फी रूपमा सञ्चालन भइरहेको छ ।
त्यसैगरी, गण्डकी प्रदेशको मनाङस्थित नासों गाउँपालिका–३ खत्रो क्षेत्रमा चामे–बेँसीसहर सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । कर्णाली प्रदेशको हुम्लामा सर्केगाड गाउँपालिका–६ खारेखेतमा कर्णाली करिडोरसमेत पूर्णरूपमा अवरुद्ध रहेको सडक विभागले जनाएको छ ।
सडक विभागले अवरुद्ध सडकखण्ड खुलाउने तथा जोखिमयुक्त क्षेत्रमा यातायात व्यवस्थापनको काम भइरहेको जनाएको छ ।