कन्या राशि राशि चक्रको छैटौँ राशि हो र यसको प्रतीक चिह्न पनि हातमा फूल लिएकी कन्या (कुमारी केटी) नै हो । राशि चिह्न कन्या भएकाले यिनीहरू सङ्कोच गर्ने र लजाउने बानीका साथमा जन्मन्छन्, तर शिक्षादीक्षा र परिपक्वताले लजाउने बानी त हट्छ, तर नम्रता यिनीहरूको नैसर्गिक गुण बन्न पुग्छ । यस राशिको राशि स्वामी बुध हो ।
यो राशिको दिशा दक्षिण हो । यस राशिका व्यक्तिहरू अत्यधिक महत्त्वाकाङ्क्षी र भावुक हुन्छन् । मस्तिष्कको उपयोग गरेर होइन, यिनीहरूले कुनै काम गर्दा मानसिक ऊर्जाको प्रयोग गर्दछन् । यिनीहरूको शारीरिक प्रकृति कोमल हुन्छ ।
यिनीहरूको झुकाव ललितकलाका कुनै क्षेत्रमा हुने गर्दछ । आफ्नो व्यक्तिगत योग्यता र क्षमताका बलमा यिनीहरू उच्च पदमा पदासीन हुन पुग्छन् ।
यिनीहरूको बाल्यावस्था, युवावस्था र वृद्धावस्थामा क्रमशः सुख सुविधामा वृद्धि हुँदै जान्छ अर्थात् उमेर परिपक्व हुँदै जाँदा यिनीहरू पेसागत र आर्थिक रूपमा समृद्ध र स्थिर बन्दै जान्छन् । विपरीत परिस्थितिको सिर्जना भए पनि यिनीहरू आफ्नो लक्ष्य र उद्देश्यप्रति अडिग र स्थिर रहने गर्दछन् ।
सद्गुण, विचारले भरिपूर्ण जीवन, बुद्धिमान्, सादगीपूर्ण नम्र व्यवहार यस राशिका जातकको विशेषता हो र यिनै वैशिष्ट्यले गर्दा निरन्तर उन्नतिशील र प्रतिष्ठित बन्न पुग्दछन् । यिनीहरू विना कारण रिसाउँदैनन् तर कुनै कारणले रिसाइहाले भने छिट्टै शान्त हुन सक्तैनन् र जोसँग रिसाएका हुन्छन्, त्यसप्रति घृणा र ईर्ष्या भावले हेर्ने गर्दछन् ।
यस राशिका जातकमा बोल्ने र सम्भाषण गर्ने राम्रो शैली हुन्छ । यिनीहरूले आफन्तबाट लाभ प्राप्त गर्न सक्दैनन्, साथै दाम्पत्य सम्बन्ध पनि सुमधुर बन्दैन । कन्या राशिका स्त्रीहरूको प्रायशः प्रेम विवाह भएको देखिन्छ, तर पुरुषहरूको प्रेम सम्बन्ध सफल हुँदैन ।
[wpna_related_articles title=”My Optional Title” ids=”22195,55002″]
स्त्रीहरूले प्रेम विवाह गरे पनि हतारमा निर्णय गरेर फुर्सदमा पछुताएको पाइन्छ, अतः संक्षेपमा पुरुष होस् वा स्त्री प्रेमसम्बन्धीमा असफल राशि मानिन्छ कन्या राशि । धर्म, संस्कृति र परम्पराको निर्वाह गर्न मन पराउँछन्, यात्रा प्रेमी हुन्छन् र जुन कामको जिम्मेवारी लिएका हुन्छन्, त्यसलाई मिहिनेत, लगनशीलता र दृढताका साथ पूर्ण गरेरै छाड्छन् ।
यस राशिका जातकहरू अपरिचित र नौला मानिससँग छिटै घुलमिल हुन्छन्, यद्यपि यिनीहरूको मित्रता जुनसुकै उमेर समूह र स्ट्याटसका मानिसहरूसित हुने गर्दछ । देश परदेशको भ्रमण गरी यिनीहरूले आफ्नो क्षमता, योग्यता र पहुँचको प्रयोग गरी आर्थिक समृद्धि कमाउन सक्दछन् ।
कन्या राशिका जातकको शिक्षादीक्षा प्राप्त गर्ने उमेर मनोरञ्जन र खेलबाडमा बितेको देखिनछ, त्यसैले यिनीहरूको व्यावसायिक र बन्द व्यापारका दृष्टिले यिनीहरूको ढिलो उन्नति हुन्छ । कन्या राशि हुने व्यक्तिको राशि स्वामी बुध, द्वि स्वभाव संज्ञा, वैश्य वर्ण, शीतल स्वभाव, वात (वायु तथा श्वास) प्रकृति भएको र दक्षिण दिशाको स्वामी हो ।
कन्या राशिमा तीन वटा नक्षत्र (उत्तराफाल्गुनी, हस्ता, चित्रा) र नौ वटा अक्षर हुन्छन् – टो, प, पी, पू, ष, ण, ठ, पे, पो । नक्षत्रअनुसार कन्या राशिका जातकको बेग्लाबेग्लै स्वभाव हुन्छ ।