धादिङ। बेनीघाट रोराङ गाउँपालिकाका किसान पहिरोको जोखिम मोलेर कृषि उपज बजारसम्म पुर्याउन बाध्य भएका छन् । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएपछि किसानले तरकारीका भारी बोकेर जोखिमपूर्ण बाटो हुँदै बेनीघाट बजारसम्म उत्पादन पुर्याइरहेका छन् ।
वर्षाका कारण कृष्णभीर क्षेत्रमा पहिरो खस्ने क्रम नरोकिँदा सडकको अवस्था जोखिमपूर्ण बनेको छ । पहिरोग्रस्त क्षेत्रमा ढुंगा र लेदो माटो खसिरहँदा किसानलाई कृषि उपज बोकेर हिँड्नसमेत कठिन भएको छ । सडक अवरोधका कारण सवारीसाधनमार्फत उत्पादन बजार पुर्याउन नसकेपछि किसानले आफैं बोकेर लैजानुपर्ने अवस्था आएको हो ।
उत्पादन बजारसम्म पुर्याउन नसके लगानी डुब्ने र आम्दानी गुम्ने जोखिमका कारण किसान ज्यानकै जोखिम मोलेर भए पनि बजार पुग्न बाध्य छन् । सडक अवरुद्ध हुँदा कृषि उपजको बजारीकरण प्रभावित भएको छ भने त्यसको प्रत्यक्ष असर किसानको आयआर्जनमा परेको छ ।
गत भदौ १० गते त्रिशूली नदीमा आएको बाढीपछि कृष्णभीर, परेवाभीरलगायत नदी तटीय क्षेत्रका सडक प्रभावित छन् । वर्षासँगै पहिरो खस्ने क्रम जारी रहँदा यी क्षेत्रमा आवागमन अझै चुनौतीपूर्ण बनेको छ ।