काठमाडौं । सशस्त्र प्रहरीले महोत्तरीको सोनमा गाउँपालिका–६ मगरथानाबाट करिब दुई करोड ४० लाख रुपैयाँ बराबरका ‘एप्पल एयरपड्स’ बरामद गरेको छ ।
नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरिएको एप्पल कम्पनीका १ हजार २०० थान वायरलेस इयरफोन सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण महोत्तरी, सीमा सुरक्षा गुल्म रघुनाथपुर र बोर्डर आउट पोस्ट खैरवनीको संयुक्त टोलीले बरामद गरेको हो ।
सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार गस्ती टोलीलाई देखेपछि सामान ल्याउने व्यक्ति सामग्री छाडेर फरार भएका थिए ।
बरामद एयरपड्स आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।