काठमाडौं। भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली नदीमा रहेका ३५ भन्दा बढी पक्की, बेलिब्रिज र झोलुङ्गे पुल बगे। कतिपय पुल पूर्ण रूपमा बगे भने केहीमा आंशिक क्षति पुग्यो। तर धादिङको गल्छीस्थित महेशदोभानमा निर्माणाधीन पुल भने त्रिशूलीको भीषण बाढीमा पनि जोगिएको छ।
सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार पुल जोगिनुमा नदीको भौगोलिक बनोट, पुलको लामो स्पान र जग चट्टानभित्र १० देखि १५ मिटर गहिराइसम्म पुर्याएर निर्माण गरिनु मुख्य कारण देखिएको छ। बाढीको वेग पुल रहेको स्थानसम्म आइपुग्दा केही कमजोर हुनु र नदीको बहाव फैलिन पर्याप्त ठाउँ हुनु पनि संरचना जोगिनुको कारण बनेको उनले बताए।
‘रकभित्र करिब १०–१५ मिटरजति भित्र पठाइएको थियो । त्यो रकलाई भेलले काट्न सकेन,’ जैसीले भने।
गल्छीभन्दा माथि त्रिशूलीकै तुप्चे क्षेत्रमा सोही प्रकृतिको संरचना रहेको अर्को पुल भने बाढीले बगाएको उनले बताए। उनका अनुसार यसपटकको बाढी सामान्य अनुमानभन्दा असाधारण ठूलो थियो। टिमुरे र रसुवागढी क्षेत्रमा बाढीको छाल करिब १०० मिटरसम्म माथि पुगेको आकलन गरिएको छ।
‘यो हाम्रो लागि नसोचेको, महाप्रलयजस्तो अवस्था भयो,’ जैसीले भने, ‘हामीले पनि यो पुल बच्ला भनेर एक्स्पेक्ट गरेका थिएनौँ।’
यसपटकको बाढीले नेपालमा पुल निर्माणका विद्यमान डिजाइन मापदण्ड पुनरावलोकन गर्नुपर्ने देखाएको सडक विभागको निष्कर्ष छ। हाल सामान्यतः १०० वर्षको ‘रिटर्न पिरियड’लाई आधार मानेर पानीको बहाव र ‘फ्री बोर्ड’ निर्धारण गरी पुल डिजाइन गर्ने गरिएको छ। तर जलवायु परिवर्तनसँगै बाढीको प्रकृति र तीव्रता बदलिँदै गएकाले पुराना मापदण्ड पर्याप्त नहुने विभागको भनाइ छ।
अब नेपालका भौगोलिक र जलवायुजन्य जोखिमअनुकूल आफ्नै मापदण्ड विकास गर्ने, सकेसम्म नदीको बीचमा पिल्लर नराख्ने, लामो स्पान र अग्ला पुल निर्माण गर्ने तथा रणनीतिक ‘लाइफलाइन’ पुललाई थप बलियो बनाउने विषयमा विभागले छलफल अघि बढाएको छ।
‘अब हामीले एकदमै क्लाइमेट–रेजिलेन्स खालका, लामा स्पानका पुलहरू निर्माण गर्नुपर्छ,’ जैसीले भने।