काठमाडौं । सडक विभागका महानिर्देशक डा. विजय जैसीले विद्युत पोल स्थानान्तरणमा हुने ढिलाइ सडक विस्तार आयोजनाको सबैभन्दा ठूलो अवरोध बनेको बताएका छन्। पोल समयमै नसारिँदा आयोजना लम्बिने मात्र नभई निर्माण व्यवसायीलाई क्षतिपूर्ति तिर्नुपर्दा राज्यमाथि करोडौं रुपैयाँको अतिरिक्त आर्थिक भार परेको उनले बताए।
शुक्रबार संघीय संसद्अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा जैसीले सडक विस्तारका लागि आवश्यक पर्ने राइट अफ वेभित्र पोल गाड्न सडक विभागले सहजीकरण गरे पनि विस्तारका बेला नेपाल विद्युत प्राधिकरणबाट अपेक्षित सहयोग नपाएको बताए। पोल स्थानान्तरण र आवश्यक सामग्री उपलब्ध गराउन हुने ढिलाइले आयोजना प्रभावित भएको उनको भनाइ थियो। एउटै निर्माण व्यवसायीले धेरै ठेक्का लिएर जनशक्ति अभाव देखाउने प्रवृत्तिले पनि काम सुस्त भएको उनले उल्लेख गरे।
नागढुंगा–मुग्लिङ सडकको उदाहरण दिँदै उनले भने, “पाँच वर्षदेखि पोल सार्ने प्रयास भइरहेको छ, तर अझै १८२ वटा पोल बाँकी छन्। समयमै पोल नसारिँदा निर्माण व्यवसायीले क्षतिपूर्ति दाबी गर्छन् र त्यसको भार राज्यले बेहोर्नुपरेको छ।”
उनका अनुसार कतिपय ठाउँमा पोल बीचमै छाडेर कालोपत्रे गर्नुपर्ने अवस्था समेत सिर्जना भएको छ।
महानिर्देशक जैसीले नारायणघाट–बुटवल, मुग्लिङ–पोखरा र सूर्यविनायक–धुलिखेल सडक आयोजना सम्पन्न हुने चरणमा पुगेको जानकारी दिए। पोखराको सेती नदीमाथि निर्माणाधीन ‘सिग्नेचर ब्रिज’ नेपाली प्राविधिककै डिजाइन र नेतृत्वमा पहिलोपटक एक्स्ट्राडोज प्रविधिबाट निर्माण भइरहेको भन्दै काम सन्तोषजनक रूपमा अघि बढिरहेको उनले बताए।
सडक विस्तारका कारण सर्वसाधारणले धुलो र हिलोको सास्ती खेप्नुपरेको स्वीकार गर्दै उनले बाँकी अवरोध हटाएर आयोजनालाई तीव्रता दिने प्रतिबद्धता जनाए।