काठमाडौं । नेपालको पहिलो सडक सुरुङमार्ग नागढुंगा–सिस्नेखोला सोमबार औपचारिक रूपमा उद्घाटन भएको छ। सञ्चालन तथा मर्मतसम्बन्धी परीक्षण सफल भएपछि उद्घाटन गरिएको सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा नआएसम्म प्रयोगकर्ताबाट कुनै शुल्क नलिइने सडक विभागले जनाएको छ।
सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार सुरुङमार्ग अहिले परीक्षण चरणमा छ। अन्तिम प्राविधिक परीक्षण (मक ड्रिल) पूरा भएपछि सबै प्रकारका सवारीका लागि नियमित रूपमा सञ्चालनमा ल्याइनेछ।
‘पूर्ण रूपमा सञ्चालनमा नआएसम्म सुरुङमार्ग प्रयोग गरेबापत कुनै शुल्क लाग्दैन,’ जैसीले भने।
उनले सुरुङमार्गको डिजाइन आयु एक सय वर्ष रहेको बताउँदै नियमित मर्मत र व्यवस्थापन गर्न सके तोकिएको आयुसम्म सुरक्षित रूपमा सञ्चालन गर्न सकिने बताए।
पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नागढुंगा सुरुङमार्ग सञ्चालनसँगै नेपाल सुरुङमार्ग युगमा प्रवेश गरेको बताए। उनका अनुसार चालु आर्थिक वर्षभित्र निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग सञ्चालनमा ल्याउने लक्ष्य छ भने काठमाडौं–तराई द्रुतमार्गसहित थप ६ वटा सुरुङमार्ग निर्माणाधीन छन्।
‘नेपालजस्तो भौगोलिक बनावट भएको मुलुकमा सुरक्षित र छिटो यात्राका लागि सुरुङमार्ग अपरिहार्य छ,’ सिग्देलले भने।
उनले सुरुङ सञ्चालनमा सुरक्षा, निगरानी र हावाको गुणस्तर कायम राख्न चौबीसै घण्टा प्राविधिक जनशक्ति आवश्यक पर्ने भएकाले सञ्चालन खर्च बढी हुने बताए। भविष्यमा धेरै सुरुङमार्ग सञ्चालनमा आएपछि एकीकृत व्यवस्थापन प्रणालीमार्फत लागत घटाउन सकिने उनको भनाइ छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले सुरुङमार्ग सञ्चालनलाई नेपालको सडक पूर्वाधार विकासमा महत्वपूर्ण उपलब्धि भन्दै स्वागत गरे। उनले निर्माणाधीन अन्य सुरुङमार्ग पनि तीव्र गतिमा सम्पन्न गर्न सरकारसँग आग्रह गरे।
सार्वजनिक यात्रुवाहक र मालवाहक सवारीका लागि तोकिएको शुल्क भने पुनरवलोकन गर्नुपर्ने उनको माग छ। ‘सञ्चालन खर्च धान्ने र सार्वजनिक यातायातलाई पनि भार नपर्ने गरी शुल्क निर्धारण हुनुपर्छ,’ सिटौलाले भने।
सडक विभागले कार तथा भ्यानका लागि काठमाडौं प्रवेश गर्दा ६५ र बाहिरिँदा ६० रुपैयाँ शुल्क निर्धारण गरेको छ। मिनीबस, ट्रक र टिपरले काठमाडौं प्रवेश गर्दा ११५ र बाहिरिँदा ८० रुपैयाँ तिर्नुपर्नेछ। बस तथा ठूला ट्रकका लागि प्रवेश शुल्क २६० र बाहिरिने शुल्क २०० रुपैयाँ तोकिएको छ। यी शुल्क सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि मात्र लागू हुने विभागले जनाएको छ।
सुरक्षाका कारण मोटरसाइकल, अन्य दुईपाङ्ग्रे, तीनपाङ्ग्रे सवारी, पैदलयात्री तथा प्रज्वलनशील वा विस्फोटक पदार्थ बोकेका सवारीलाई सुरुङमार्ग प्रयोग गर्न दिइने छैन।
वि.सं. २०७६ कात्तिकमा शिलान्यास गरिएको यो आयोजना सुरुमा करिब २२ अर्ब रुपैयाँमा सम्पन्न हुने अनुमान गरिएको थियो। तर भूगर्भीय जटिलता, डिजाइन परिमार्जन र अन्य प्राविधिक कारणले लागत बढेर २७ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ। करिब २.७ किलोमिटर लामो यो सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुंगा सडकखण्डको यात्रा समय छोटिने, ट्राफिक जाम कम हुने र दुर्घटनाको जोखिम घट्ने अपेक्षा गरिएको छ।