रसुवा – भोटेकोशी नदीमा बाढीको बहाव बढ्दै गएपछि त्रिशुली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
महाशाखाका अनुसार भोटेकोशी नदीमा पानीको सतह बढेसँगै बाढी स्याप्रुबेसी क्षेत्रसम्म आइपुगेको छ। बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै त्रिशुली नदीको तटीय क्षेत्र हुँदै मुग्लिनसम्मका बासिन्दालाई अर्को सूचना जारी नभएसम्म सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ।
नदी आसपासका बस्ती तथा तटीय क्षेत्रमा रहेका नागरिकलाई विशेष सतर्कता अपनाउन, जोखिमयुक्त क्षेत्रबाट टाढा रहन तथा बाढीबाट सुरक्षित रहन आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
बाढीको अवस्था थप गम्भीर हुन सक्ने भएकाले स्थानीय बासिन्दालाई सरकारी तथा सम्बन्धित निकायबाट जारी हुने सूचना नियमित रूपमा हेर्न र सोहीअनुसार सुरक्षा उपाय अपनाउन महाशाखाले अनुरोध गरेको छ।