काठमाडौं । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा ज्यान गुमाएकाहरूको सम्झनामा स्पेनिस क्लब का खेलाडीले एक मिनेट मौनधारण गरेका छन्।
बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा आज बिहान एथलेटिक क्लबविरुद्धको खेल सुरु हुनुअघि खेलाडीहरूले मौनधारण गरेका हुन्।
क्लबले सामाजिक सञ्जाल एक्समार्फत मौनधारणको जानकारी दिँदै गत सिजनमा निधन भएका बार्सिलोनाका सदस्यहरू तथा नेपाल–चीन सीमामा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको जनाएको छ।
बार्सिलोनाले मौनधारणका तस्बिरसहित सामाजिक सञ्जालमा उक्त जानकारी सार्वजनिक गरेको हो।
एथलेटिक क्लबविरुद्धको खेलमा बार्सिलोनाले २–० को जित हात पार्यो। टोलीका लागि राफिन्हाले ३७औँ मिनेटमा र फर्मिन लोपेजले ८२औँ मिनेटमा गोल गरे।
विश्वकपपछि म्यानचेस्टर सिटीबाट बार्सिलोना आएका रोड्रीले पनि नयाँ क्लबबाट डेब्यू गरेका छन्। उनी खेलको ६२औँ मिनेटमा मैदान प्रवेश गरेका थिए।
बार्सिलोनाले ला लिगाको यस सिजनका सुरुवाती दुवै खेलमा जित निकाल्दै उत्कृष्ट सुरुवात गरेको छ।
