काठमाडौं । टप एन्ड टी–२० सिरिजमा नेपाल किङ्समेनसँग ३१ रनले पराजित भएको छ । बिहीबार भएको खेलमा किङ्समेनसँग पराजित भएसँगै नेपाल प्रतियोगिताको सेमिफाइनल होडबाट बाहिरिएको हो ।
किङ्समेनले दिएको १९८ रनको लक्ष्य पछ्याएको नेपाल ए टोली १९.२ ओभरमा १६६ रनमै अलआउट भयो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६६ रन बनाए । तर, उनको इनिङ्सले टोलीलाई जित दिलाउन सकेन ।
लोकेश बम र अनिल साहले समान ११ रन तथा बिपिन खत्रीले १० रन जोडे ।
किङ्समेनका स्कट कुगेलेइन र उसामा मिरले समान ३ विकेट लिए । अली शेखले २ तथा उमेर खान र हम्माद आजमले १–१ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको किङ्समेनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९७ रनको योगफल तयार पारेको थियो । उसका लागि शेहान जयसूर्याले सर्वाधिक ६७ रन बनाए । शयान जहाङ्गिरले २७, हम्माद आजमले २६, मिलिन्द कुमारले २५ तथा तयाब आरिफले २२ रन बनाए ।
नेपालका नारायण जोशीले २ विकेट लिए । राशिद खान, पवन सर्राफ र कुशल भुर्तेलले १–१ विकेट लिए ।
नेपालले प्रतियोगितामा चार खेलबाट २ जित र २ हारको नतिजा निकालेको छ । अब नेपालले एक खेल खेल्न बाँकी छ । अन्तिम खेल जिते पनि नेपालको ६ अंक मात्रै हुनेछ । शीर्ष चार टोलीको अंक ८ पुग्ने समीकरण बनेपछि नेपाल सेमिफाइनल दौडबाट बाहिरिएको हो ।