हेटौँडा। वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भदौ ८ गते सोमबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।
नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थापाले यसअघि भदौ ७ गते विश्वासको मत लिने गरी प्रदेशसभा सचिवालयलाई पत्र पठाएका थिए। गृह जिल्ला जाने कार्यक्रम र अन्य दलको सुझावपछि उनले मिति संशोधन गरेका हुन्।
प्रदेशसभा सचिवालयले भदौ ८ गते दिउँसो १ बजेका लागि बैठक बोलाएको छ। बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्तावमाथि प्रक्रिया अघि बढाइने सचिवालयले जनाएको छ।
मुख्यमन्त्री थापाका अनुसार आइतबार कार्यव्यवस्था परामर्श समितिको बैठकले विश्वासको मतसम्बन्धी प्रक्रिया टुंग्याउनेछ भने सोमबार मत विभाजन गरिनेछ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि थापाले भदौ ३ गते दाबी पेस गरेका थिए। प्रदेश प्रमुखले भदौ ४ गते उनलाई मुख्यमन्त्री नियुक्त गरेका थिए। बिहीबार शपथ लिएका थापाले सोही दिन ६ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्।
१०४ सदस्यीय वागमती प्रदेशसभामा बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। विश्वासको मत पाएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा थापा छन्।