काठमाडौँ। लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो र भूक्षय हुँदा सडक यातायात प्रभावित भएको छ । केही सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने जोखिमयुक्त स्थानमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट, रोल्पा, पाल्पा र मकवानपुरका विभिन्न सडकखण्ड वर्षाका कारण प्रभावित भएका छन् ।
काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
त्यस्तै, मकवानपुरको कान्ति लोकपथमा अपराह्न ५ बजेदेखि बिहान ५ बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।
नुवाकोटको टोखा–छहरे सडकखण्डमा अत्यावश्यक सेवाका सवारीबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधनलाई राति १० बजेदेखि बिहान ५ बजेसम्म आवागमनमा रोक लगाइएको छ । अर्को सूचना जारी नभएसम्म उक्त सडकमा सवारीसाधन सञ्चालन गर्न नपाइने जनाइएको छ ।
इलाम नगरपालिका–९ राजदुवालीमा हिलो जम्दा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा वैकल्पिक मार्ग भने उपलब्ध रहेको प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्गमा इकु पहिरो खसेको तथा सोही वडाको लिपिङ क्षेत्रमा सडक भासिएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले सडक कटान गरेपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । यस्तै, गोसाइकुण्ड गाउँपालिका–२ स्याउपार्किङमा बिहीबार अपराह्न पहिरो खसेपछि पासाङल्हामु सडक पनि अवरुद्ध भएको छ ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलामा पहिरो खस्दा भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक पूर्ण रूपमा बन्द भएको छ ।
लमजुङको बेँसीसहर–मनाङ सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ रामबजारमा पहिरो खसेपछि सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
रोल्पाको माडी गाउँपालिका–६ झकलीमा रुखसहितको पहिरो खसेपछि घोराही–थवाङ–रुकुम सहिदमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।
पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फ प्रवेश गर्ने विन्दुबाट करिब एक सय मिटर उत्तरतर्फ पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । उक्त स्थानमा शनिबार बिहान भूक्षय भएको प्रहरीले जनाएको छ ।
वर्षाका कारण अवरुद्ध सडकखण्डमा बाढी, पहिरो तथा भूक्षयको जोखिम कायमै रहेकाले प्रहरीले यात्रुलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । अवस्था हेरेर यात्रा गर्न र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न पनि सम्बन्धित निकायले अनुरोध गरेको छ ।