काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) ले आफ्नो उत्पादन घिउको मध्यपूर्वतर्फ निर्यात सुरु गरेको छ । डिडिसीले शुक्रबार पहिलो चरणमा दुबईका लागि ५ सय किलो घिउ निर्यात गरेको हो ।
डिडिसीका महाप्रबन्धक डा. शरण पाण्डेका अनुसार मध्यपूर्वका सबै देशमा घिउ निर्यात गर्ने गरी निजी क्षेत्रसँग सम्झौता भइसकेको छ । उनका अनुसार वार्षिक ५० हजार किलो घिउ निर्यात गर्ने सम्झौता भएको छ ।
डिडिसीले जापान र दक्षिण कोरियामा समेत घिउ निर्यातको तयारी अघि बढाएको छ । ती देशमा उत्पादनको बजारीकरणका लागि स्थानीय बिक्रेता नियुक्तिलगायतका काम सम्पन्न भइसकेको पाण्डेले बताए । घिउको आवश्यक प्रमाणीकरण प्रक्रिया पूरा भएपछि दुवै देशमा निर्यात सुरु गरिने उनको भनाइ छ ।
घिउको उत्पादन सीमित भएकाले पहिलो वर्ष ५० टन मात्रै निर्यात गर्ने सम्झौता गरिएको डिडिसीले जनाएको छ । उत्पादन क्षमता बढ्दै गएसँगै विदेशमा निर्यात हुने परिमाणसमेत वृद्धि गरिने पाण्डेले बताए ।
प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकार बनेपछि डिडिसीको कारोबारमा वृद्धि भएको र त्यसको प्रभाव किसानलाई भुक्तानी गर्न बाँकी रकम फर्छ्योटमा समेत देखिएको डिडिसीको भनाइ छ ।