भोजपुर– भोजपुरमा यस वर्ष ९६ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार जिल्लामा धान रोपाइँ अन्तिम चरणमा पुगेको छ ।
केन्द्रका सूचना अधिकारी घनश्याम बरालका अनुसार हालसम्म ११ हजार ५६८ दशमलव ७८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । जिल्लामा धानखेतीका लागि १२ हजार ५० दशमलव ८१ हेक्टर क्षेत्रफल उपयुक्त रहेको केन्द्रले जनाएको छ । भोजपुरको कुल खेतीयोग्य क्षेत्रफल भने ६२ हजार २९९ हेक्टर रहेको छ ।
जिल्लाका नौवटै स्थानीय तहका तल्लो भेगमा मुख्य रूपमा धानखेती हुने गरेको छ । यस वर्ष मनसुन सक्रिय भई पर्याप्त वर्षा भएकाले अधिकांश क्षेत्रमा समयमै रोपाइँ सम्पन्न भएको केन्द्रले जनाएको छ ।
धान भोजपुरका किसानको प्रमुख खाद्यबाली भएकाले समयमै रोपाइँ हुनु उत्पादनका दृष्टिले महत्त्वपूर्ण मानिन्छ । जिल्लाका केही क्षेत्रमा बर्खे धान लगाइने भए पनि अधिकांश स्थानमा मङ्सिरे धान उत्पादन हुने गरेको छ ।
बेँसी तथा फाँट क्षेत्रमा किसानले वर्षमा दुई बालीसम्म धान उत्पादन गर्ने गरेका छन् । समयमै रोपाइँ सम्पन्न भएकाले यस वर्ष धानको उत्पादनमा समेत सकारात्मक प्रभाव पर्ने कृषि ज्ञान केन्द्रको अनुमान छ ।