नवलपरासी – नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई वर्षीय बालक दुई दिनपछि सामुदायिक वनबाट सकुशल उद्धार गरिएको छ।
भदौ २ गते बिहान करिब ७ बजे भागरकी हेमकुमारी आले घरनजिकैको शंखदेवी सामुदायिक वनमा च्याउ टिप्न गएकी थिइन्। केही समयपछि घर फर्किँदा उनका नाति साढे दुई वर्षीय शिवान तामाङ घरमा नभएको थाहा भएको थियो।
बालक हराएपछि स्थानीय बासिन्दा र छरछिमेकीले वन क्षेत्रमा खोजी गरे पनि फेला पार्न नसकेपछि इलाका प्रहरी कार्यालयमा जानकारी गराइएको थियो। त्यसपछि बालकको खोजीका लागि इलाका प्रहरी कार्यालय गैँडाकोट, इलाका प्रहरी कार्यालय रजहर तथा अस्थायी प्रहरी पोस्ट बेल्डियाबाट प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरी र स्थानीयवासीको संयुक्त खोजीका क्रममा भदौ ४ गते बिहान करिब १० बजे बालक शिवानलाई गैँडाकोट–१४ स्थित शंखदेवी सामुदायिक वनअन्तर्गत भागर खोलाको सिरानमा फेला पारिएको हो।
बालकलाई सकुशल उद्धार गरी आवश्यक प्रक्रिया पूरा गरेपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।