काठमाडौं। विद्युत महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न र डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता उठाउन माग गर्दै उज्यालो नेपाल पार्टीले थालेको हस्ताक्षर अभियान जारी छ। बुधबार काठमाडौंको माइतीघर मण्डलामा पनि अभियान सञ्चालन गरिएको छ।
चालु आर्थिक वर्षदेखि विद्युत महसुलमा थप भ्याट लगाइएको विरोधमा पार्टीले अभियान थालेको हो। पार्टीका केन्द्रीय सचिवालय सदस्य राजेन्द्र अवस्थीले जलस्रोतमा धनी नेपालले जलविद्युतलाई समृद्धिको आधार बनाउनुपर्नेमा सरकारले विद्युतमा भ्याट लगाएर सर्वसाधारणमाथि थप आर्थिक भार थोपरेको बताए।
‘हामी जलस्रोतमा धनी छौँ र हाम्रो समृद्धिको मुख्य आधार नै जलविद्युत हो भन्ने हाम्रो मान्यता छ । तर सरकारले यस क्षेत्रलाई उचित प्राथमिकता दिनुको साटो उल्टै विद्युतमा भ्याट लगाएर सर्वसाधारणलाई मर्कामा पारेको छ ।’
पार्टीले विद्युत महसुलमा लगाइएको भ्याट तत्काल हटाउन तथा डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेबापत उद्योगीबाट उठ्न बाँकी महसुल असुल गर्न सरकारसँग माग गरेको छ। पटक–पटक सुझाव दिँदा पनि सरकारले बेवास्ता गरेपछि दबाब सिर्जना गर्न सडकमा उत्रिनुपरेको पार्टीको भनाइ छ।
माइतीघरबाट सुरु भएको हस्ताक्षर अभियान देशव्यापी विस्तार गरिने पार्टीले जनाएको छ। जनतालाई प्रत्यक्ष आर्थिक भार पर्ने सरकारी निर्णयविरुद्ध जनसमर्थन जुटाउने उद्देश्यले अभियान सञ्चालन गरिएको अवस्थीले बताए।