काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टोलीका पूर्वकप्तान रोहित पौडेललाई उनको नेतृत्वकालमा पुर्याएको योगदानका लागि धन्यवाद दिएको छ।
क्यानले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै रोहितको कप्तानीमा नेपाली क्रिकेटले महत्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गरेको छ। ती उपलब्धिहरू नेपालको क्रिकेट यात्रामा सदैव गौरवका क्षणका रूपमा रहने क्यानको भनाइ छ।
क्यानले नेपाली क्रिकेटप्रति रोहितले देखाएको लगनशीलता, समर्पण र दृढ संकल्पको प्रशंसा गर्दै देश, टोली र खेलप्रतिको उनको प्रतिबद्धता प्रेरणादायी रहेको जनाएको छ।
कप्तानीको जिम्मेवारीबाट अलग भए पनि आगामी दिनमा रोहितले उही भावना, गर्व र समर्पणका साथ नेपाली टोलीको प्रतिनिधित्व गर्ने विश्वास क्यानले व्यक्त गरेको छ। साथै, उनको योगदानको सम्मान गर्दै क्यानले रोहितलाई ‘एकपटकको नेता, सधैँको नेता’ भनेको छ।
यसैबीच, क्यानले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) टोलीको नयाँ कप्तानमा लेगस्पिनर सन्दीप लामिछानेलाई नियुक्त गरेको छ। आगामी अगस्ट ३० देखि मलेसियामा हुने एसीसी प्रिमियर कपमा नेपालले सन्दीपको नेतृत्वमा प्रतिस्पर्धा गर्नेछ।
नेदरल्यान्ड्समा हालै सम्पन्न आईसीसी विश्वकप लिग–२ मा नेपाली टोलीको प्रदर्शन अपेक्षाअनुसार हुन नसकेपछि क्यानले रोहितलाई हटाउँदै सन्दीपलाई ओडिआई कप्तानको जिम्मेवारी दिएको हो।
यससँगै रोहितले ओडिआई र टी–२० दुवै टोलीको कप्तानी गुमाएका छन्। यसअघि नै क्यानले टी–२० टोलीको नेतृत्व दीपेन्द्रसिंह ऐरीलाई दिएको थियो। सन् २०२२ मा कानुनी विवादपछि कप्तानी गुमाएका सन्दीप करिब चार वर्षपछि पुनः राष्ट्रिय टोलीको कप्तानका रूपमा फर्किएका हुन्।
एसीसी प्रिमियर कपका लागि नेपाली टोली
सन्दीप लामिछाने (कप्तान)
आसिफ शेख
अर्जुन कुमाल
रोहित पौडेल
देव खनाल
दीपेन्द्रसिंह ऐरी
सन्दीप जोरा
बसिर अहमद
डा. इशान पाण्डे
गुल्सन झा
शेर मल्ल
ललित राजवंशी
करण केसी
हेमन्त धामी