चितवन । चितवनमा सन् २०२६ को जनवरीदेखि हालसम्म ८० जना नयाँ एचआईभी सङ्क्रमित थपिएका छन्। जोखिममा रहेका समूहमा गरिएको परीक्षणका क्रममा उनीहरूमा सङ्क्रमण पुष्टि भएको हो।
भरतपुर अस्पतालस्थित एड्स हेल्थ फाउन्डेसनले यस अवधिमा २२३ जनाको परीक्षण गर्दा ८० जनामा एचआईभी सङ्क्रमण देखिएको जनाएको छ। नयाँ सङ्क्रमितसहित ९१ जना नयाँ बिरामीले एचआईभी नियन्त्रणका लागि प्रयोग गरिने एआरटी औषधि सेवन गर्न थालेका छन्। औषधि सेवन सुरु गर्नेमा ११ जना जिल्ला बाहिरबाट आएका बिरामीसमेत छन्।
यससँगै फाउन्डेसनबाट नियमित रूपमा एआरटी औषधि सेवन गर्ने बिरामीको सङ्ख्या एक हजार २९३ पुगेको छ।
अस्पतालका फिजिसियन डा. प्रमोद पौडेलका अनुसार एचआईभी सङ्क्रमितको यौन रोग परीक्षण गर्दा ५२ जनामा यौन रोगसमेत देखिएको छ। यस अवधिमा एक हजार १६१ जनाको परीक्षण गरिएको थियो। सङ्क्रमण देखिएका बिरामीको उपचार गरिएको उनले जानकारी दिए।
उनले पछिल्लो समय सरकारी तवरबाट कन्डम उपलब्ध हुन नसक्दा असुरक्षित यौन सम्पर्क गर्ने जोखिमयुक्त समूहमा यौन रोग तथा भिरिङ्गीको समस्या देखिएको बताए।
एचआईभी सङ्क्रमितमा क्षयरोगको समस्या पनि देखिने गरेको डा. पौडेलले जानकारी दिए। उनका अनुसार १४८ जनाको खकार परीक्षण गर्दा १५ जनामा क्षयरोग पुष्टि भएको छ।
जनवरीदेखि हालसम्म नियमित औषधि सेवन गरिरहेका तीन जनाले औषधि खान छाडेको र उनीहरू सम्पर्कमा समेत नआएको फाउन्डेसनले जनाएको छ।
फाउन्डेसनका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार औषधि लिन आउने गरिब, वृद्धवृद्धा तथा एकल महिलासहित एक हजार २११ जनालाई यातायात, प्रयोगशाला, पोषण, औषधि र आकस्मिक सेवामा सहयोग प्रदान गरिएको छ।
सापकोटाले एचआईभी सङ्क्रमितले नियमित रूपमा औषधि सेवन गरेमा सङ्क्रमणलाई नियन्त्रणमा राख्न र स्वास्थ्य अवस्था राम्रो बनाउन सकिने बताए।