काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको मन्त्रीस्तरीय निर्णयबाट पूर्व भलिबल खेलाडी तथा प्रशिक्षक ललिता नाथ र धनीराम चौधरी राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यमा नियुक्त भएका छन्।
मन्त्री पोखरेलले नवनियुक्त सदस्यद्वयलाई नियुक्तिपत्र प्रदान गरेका हुन्। दुवैलाई चार वर्षका लागि राखेप सदस्यमा मनोनीत गरिएको हो। मन्त्री पोखरेलले उनीहरूलाई मन्त्रालयमा मनोनयनपत्र प्रदान गरेका छन्।
भलिबल क्षेत्रमा लामो समयदेखि सक्रिय नाथले न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबको कप्तानका रूपमा जिम्मेवारी सम्हालेकी थिइन्। खेलाडी जीवनपछि उनी प्रशिक्षक र व्यवस्थापक हुँदै खेलकुद प्रशासनमा समेत सक्रिय रहँदै आएकी छन्।
नाथले न्यू डायमन्डको सहायक प्रशिक्षकका रूपमा काम गरेकी छन्। एभरेस्ट महिला भलिबल लिगमा उनी कर्णाली यास्वीचको व्यवस्थापन टोलीमा रहेर दुईपटक उपाधि जित्ने यात्रामा सहभागी थिइन्। सञ्चालनको तयारीमा रहेको नेपाल भलिबल लिग (एनभीएल) मा पुरुषतर्फ कर्णाली शिवराजको व्यवस्थापकीय टोलीमा पनि उनी आबद्ध छन्।
प्रशिक्षणतर्फ क्षमता विस्तार गर्ने क्रममा नाथले थाइल्यान्डमा एफआईभीबी लेभल–१ कोचिङ कोर्स पूरा गरेकी छन्।
त्यस्तै, चौधरी एथलेटिक्सका पूर्व खेलाडी तथा प्रशिक्षक हुन्। उनले यसअघि राखेपमा एथलेटिक्स प्रशिक्षकका रूपमा लामो समय काम गरेका थिए।
मन्त्रालयले दुवैको व्यावसायिक दक्षता, अनुभव र नेतृत्वदायी भूमिकाले नेपाली खेलकुदको विकास, विस्तार तथा गरिमा अभिवृद्धिमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।