काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ। अघिल्लो कारोबार दिनको ओरालो यात्रालाई निरन्तरता दिँदै नेप्से २१.१५ अंकले घटेर २६६३.१८ विन्दुमा झरेको हो।
यस दिन सेन्सेटिभ इन्डेक्स २.६६ अंकले, फ्लोट इन्डेक्स १.४० अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स १.०८ अंकले घटेको छ।
मंगलबार कारोबारमा आएका सबै १३ वटा उपसमूहका परिसूचक राताम्मे भएका छन्। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सबैभन्दा धेरै १.३१ प्रतिशतले घटेको छ। यस्तै, अन्य र व्यापार उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ।
नेप्सेसँगै कारोबार रकममा समेत कमी आएको छ। सोमबार ४ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार ४ अर्ब ७ करोड ८ लाख ५३ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
यस दिन ३४३ वटा स्टकको ५२ हजार २७२ पटक कारोबार हुँदा १ करोड ७ लाख ६१ हजार कित्ता सेयर कारोबार भएको हो।
मंगलबार एभरेष्ट कलरको सेयर मूल्य लगातार १२औँ कारोबार दिन सकारात्मक सर्किट लेभलमा पुगेको छ। त्यस्तै, खानीखोला हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतभन्दा बढीले बढेको छ भने जोशी हाइड्रोपावरको मूल्य ५ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।
यता, सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै ११.६७ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा खानीखोला हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। कम्पनीको ४० करोड ६६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। सिद्धार्थ बैंकको करिब १७ करोड रुपैयाँ र नेशनल हाइड्रोपावर कम्पनीको १६ करोड ५० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।