वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा पट्टीमा हमासको पूर्ण निशस्त्रीकरण तथा इजरायली सेना फिर्ता गर्ने विषयमा ऐतिहासिक सम्झौता भएको घोषणा गरेका छन्। उनले कतारसहित मध्यस्थकर्ताहरूले सम्झौता सफल बनाउन खेलेको भूमिकाप्रति कृतज्ञता व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल ट्रुथ सोसल मा गरिएको पोस्टमार्फत ट्रम्पले हमास र गाजामा सक्रिय अन्य सबै सशस्त्र समूहको पूर्ण निशस्त्रीकरणमा सहमति भएको दाबी गरेका हुन्।
उनका अनुसार यो सम्झौता स्थायी शान्ति र सुरक्षातर्फको महत्वपूर्ण कदम हो। सम्झौता चरणबद्ध रूपमा कार्यान्वयन गरिनेछ र निशस्त्रीकरण प्रक्रिया पूरा भएपछि इजरायली सेना गाजाबाट फिर्ता हुनेछ।
ट्रम्पले वार्ता सफल बनाउन विशेष भूमिका खेलेको भन्दै कतारलाई धन्यवाद दिएका छन्। साथै इजिप्ट र टर्कीलगायत मध्यस्थकर्ताहरूको प्रयासको पनि प्रशंसा गर्दै सबै सरोकारवालाप्रति आभार व्यक्त गरेका छन्।
उनले यस सम्झौतालाई गाजामा जारी युद्ध अन्त्य गर्न आफूले अघि सारेको २० बुँदे योजना कार्यान्वयनको महत्वपूर्ण उपलब्धिका रूपमा वर्णन गरेका छन्। ट्रम्पका अनुसार गाजाको सुरक्षा तथा प्रशासनिक व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय बलले नयाँ प्यालेस्टिनी प्रहरी बलसँग सहकार्य गर्ने व्यवस्था पनि गरिनेछ।