काठमाडौँ । कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा एक नेपाली नागरिकको ज्यान गएको छ।
मृतक तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङ रहेका छन्। उनी कुवेतमा सवारी चालकका रूपमा कार्यरत थिए। बिहीबार भएको ड्रोन आक्रमणमा उनको मृत्यु भएको कुवेतस्थित नेपाली राजदूतावासले जनाएको छ।
राजदूतावासका अनुसार घटनाबारे कुवेतको परराष्ट्र मन्त्रालयले आधिकारिक रूपमा जानकारी गराएको हो।
राजदूतावासले शुक्रबार विज्ञप्ति जारी गर्दै कानुनी प्रक्रिया पूरा गरी तामाङको शव यथाशीघ्र नेपाल पठाउन आवश्यक समन्वय भइरहेको जनाएको छ।
यसैबीच, कुवेतको पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै राजदूतावासले त्यहाँ रहेका सबै नेपालीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। कुवेत सरकारले जारी गरेका सुरक्षा निर्देशिकाहरू पूर्ण रूपमा पालना गर्न, अनावश्यक आवतजावत नगर्न तथा सुरक्षित स्थानमा रहन पनि दूतावासले अनुरोध गरेको छ।
-1785475750.png)