काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा भएको घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै कांग्रेसकी प्रमुख सचेतक वासना थापाले घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वसनीय छानबिन गर्न सरकारसँग माग गरिन्। उनले घटनाको जिम्मेवारी सरकारले लिनुपर्नेमा जोड दिँदै सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरिन्।
थापाले घटनापछि पनि प्रधानमन्त्री र गृहमन्त्री मौन बसेको भन्दै सरकारको आलोचना गरिन्। नागरिकको ज्यान जाने अवस्था सिर्जना हुनेगरी गोली चलाउनुपर्ने परिस्थिति किन आयो भन्ने विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने उनको भनाइ थियो।
उनले कसैको उक्साहट, अफवाह र घृणाको राजनीतिले सामाजिक सद्भाव बिथोल्न नहुने उल्लेख गर्दै सबै नेपालीलाई शान्ति, सहिष्णुता र सामाजिक एकताको पक्षमा उभिन आग्रह गरिन्।