काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै तीन दिनसम्म पार्टीका सबै कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ।
बुधबार बिहान बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले साउन १३ देखि १५ गतेसम्म केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको हो।
बैठकले बिहीबार एक दिनका लागि केन्द्र, प्रदेश र जिल्लाका सबै पार्टी कार्यालय बन्द गर्ने निर्णय पनि गरेको छ। साथै, श्रेष्ठको निधनको शोकमा १३ दिनसम्म केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राखिने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
त्यस्तै, स्वर्गारोहणको १३औँ दिन श्रेष्ठको गृहजिल्ला स्याङ्जाको कालिगण्डकीस्थित राम्दीघाटमा अस्तु विसर्जन गरिने र त्यसपछि जिल्लामा शोकसभा आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ।
आकस्मिक बैठकले वरिष्ठ नेता श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्तावसमेत सर्वसम्मत रूपमा पारित गरेको छ।