काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले निर्वाचन आयोगलाई सरकारको ‘लाचार छायाँ’ बन्न नदिनुपर्ने बताएका छन्।
मंगलबार संसदीय सुनुवाइ समितिमा प्रस्तावित निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेको संसदीय सुनुवाइका क्रममा उनले आयोगलाई निष्पक्ष, स्वायत्त र प्रभावकारी संवैधानिक निकायका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।
लोकतन्त्रको सुदृढीकरणमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाजत्तिकै निर्वाचन आयोगको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै केसीले आयोगलाई लोकतन्त्रको ‘छैटौँ अंग’ का रूपमा व्याख्या गरे। आयोगले स्वतन्त्र रूपमा निर्णय गर्न सके मात्रै जनताको वास्तविक जनादेशको प्रतिनिधित्व हुने उनको भनाइ थियो।
‘हाम्रा संवैधानिक संस्थाहरू हिजो पनि सरकारको लाचार छाया थिए, आज पनि लाचार छाया छन्,’ उनले भने, ‘निर्वाचन आयोगलाई अझ प्रभावकारी, सक्षम र स्वतन्त्र कसरी बनाउन सकिन्छ भन्ने विषयमा गम्भीर रूपमा सोच्नुपर्छ।’
संवैधानिक निकायमा हुने राजनीतिक नियुक्तिप्रति असन्तुष्टि जनाउँदै केसीले नेपालमा भागबन्डाका आधारमा नियुक्ति हुने गरेको टिप्पणी गरे। बेलायतको जस्तै सर्वदलीय समितिमार्फत स्वतन्त्र र सक्षम व्यक्तिको छनोट गर्ने प्रणाली आवश्यक रहेको उनको भनाइ थियो। उनले भारतका पूर्व प्रमुख निर्वाचन आयुक्त टी.एन. शेषनको उदाहरण दिँदै नेपालका आयुक्तमा पनि त्यस्तै साहसिक कार्यक्षमता आवश्यक रहेको बताए।
केसीले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्न सरकार र निर्वाचन आयोग गम्भीर हुनुपर्ने पनि बताए। विगतमा पटक–पटक प्रतिबद्धता जनाइए पनि कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै उनले आगामी निर्वाचनअघि यस विषयमा ठोस पहल गर्न आग्रह गरे।