नयाँ दिल्ली । बिहीबार भारतको पूर्वी राज्य ओडिसाको पुरीमा आयोजित विश्वप्रसिद्ध भगवान जगन्नाथ रथयात्राका क्रममा भागदौड मच्चिँदा दुई श्रद्धालुको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन् ।
घटना श्रीजगन्नाथ मन्दिरको सिंहद्वार नजिक भएको हो । लाखौँ श्रद्धालु रथयात्रामा सहभागी हुन पुगेका बेला भीड अत्यधिक बढेपछि एम्बुलेन्सलाई बाटो बनाउन खोज्दा भक्तजनहरू एकआपसमा धकेलिँदै भागदौडको अवस्था सिर्जना भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
घटनामा घाइते भएका करिब एक सय श्रद्धालुलाई उपचारका लागि विभिन्न अस्पतालमा भर्ना गरिएको छ । तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
स्थानीय प्रशासनले घटनापछि अतिरिक्त सुरक्षाकर्मी परिचालन गर्दै भीड व्यवस्थापनमा कडाइ गरेको छ । घटनाबारे अनुसन्धान सुरु गरिएको छ भने भागदौड हुनुको कारणबारे विस्तृत छानबिन भइरहेको अधिकारीहरूले बताएका छन् ।