चीन । चीनको दक्षिण–पश्चिम क्षेत्रमा पर्ने चोङकिङ नगरपालिकामा गएको पहिरोमा पुरिएका सात जनाको जीवितै उद्धार गरिएको छ।
स्थानीय अधिकारीहरूका अनुसार पेङशुई मियाओ तथा तुजिया स्वायत्त काउन्टीस्थित वुजियाङ नदीको तटीय क्षेत्रमा शुक्रबार बिहान करिब ९ बजे पहिरो खसेको थियो। पहिरोले आसपासका केही घरहरू पुरेको भए पनि क्षतिग्रस्त घरहरूको यकिन संख्या भने अझै सार्वजनिक गरिएको छैन।
घटनालगत्तै प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन गरिएको थियो। उद्धारकर्ताहरूले पहिरोमा पुरिएका सातै जनाको जीवितै उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन्।
अधिकारीहरूले घटनाबाट भएको क्षतिको विस्तृत विवरण संकलन तथा थप आकलन गर्ने कार्य जारी रहेको बताएका छन्।