ओइ ! यता हेर न। तिम्रो नाम के हो ? फरक्क पछाडि फर्किएँ । मधुर बोली,लाम्चो अनुहार,आँसु टिलपिल भएको जस्तो आँखा सायद आँखाको रोगी थिइन् उनी। त्यही दिन हो पहिलो पटक देखेको र मन पराउन थालेको सुस्मितालाई ।
म ४ मा पढ्थेँ ऊनी ३ मा । हरेक दिन स्कुल पुग्ने बित्तिकै उनीलाई नै खोज्थे आँखा । लाइनमा बस्दा पनि नजिकै बस्थ्यौँ हामी।
एउटै कोठामा काठका फल्याक ठोकेर छुट्याइको थियो दुई कक्षा । मूल ढोकाबाट छिर्ने बित्तिकै कक्षा ३, अर्कोमा कक्षा ४ को पढाइ हुन्थ्यो । पढाइ चलिरहँदा पनि म फल्याकका कापबाट हेर्थेँ उनीलाई । भरखर ८ वर्षको उमेर दिमागले अझै राम्रोसँग वयस्कता पाएको हुँदैन नै तर पनि विपरीत लिङ्गीप्रति आकर्षण भने हुँदो रहेछ ।
म उसको अगाडि फुर्तिलो बन्न रुख चढ्थेँ, स्कुल तल्लापट्टिको आहालमा नसके पनि पौडी खेलेको जस्तो गर्थेँ, ऐँसेलु घारीमा ज्यानको प्रवाह नगरी नगरी छिर्थेँ, उनका अगाडि चुत्रोको काँडाले घोचेको पनि दुख्दैनथ्यो ।
खेल्दै गर्दा छानामा गएको चुङ्गी निकाल्न तम्सिन्थे,उनी डराउँथिन् म अझ सुरो भएको जस्तो गर्थेँ । मनमनै डर भने लागि नै हाल्थ्यो तर पनि आफू फुर्तिलो जो देखिनु छ उसलाई प्रभावित पार्नु छ, हामी कहिले झगडा गर्थ्यौँ, कहिले अंगालिन्थ्यौं, कहिले जीवनभर नबोल्ने भनेर कड्डि पनि गर्थ्यौँ तर कतिन्जेल सकिन्थ्यो र नबोली बस्न दुई दिनमै खुल्ली गरेपछि फेरि हामी कहिल्यै नछुट्ने साथी जसरी हिँड्थ्यौ।
यसरी नै बिते वर्षा र हिउँद, वार्षिक परीक्षा सकियो, रिजल्ट पनि राम्रो नै आयो। म अब कक्षा ५ मा पढ्ने भएँ उनी ४ मा। नयाँ भर्ना भएको थिएन अब फुर्सदिलो नै भइयो ।
‘बाबु ! अब सहर गएर पढ्नुपर्छ । हामीले उतै राखेर पढाउने निधो गर्यौँ ।’ एक रात बुबा ममीले खाना खाँदै गर्दा भन्नुभयो । एक मनले खुसी पनि लाग्यो । अर्को मनले पढिरहेको स्कुल र साथीहरू अझै सुस्मितासंग टाढिएर जाने कुराले कता कता बिझायो । भित्री मन भने नजा नजा भन्दै थियो तर पनि हुन्छ भनेँ बुबालाई ।
दुई चार दिन सोचविचार गरेँ, साथीभाइहरूसंग कुरा पनि गरेँ बच्चा उमेर न हो कुरा भन्दा बढी फुर्ति लगाइन्छ। त्यसबिच सुस्मितासंग पनि कुरा भयो, उनले मलिन अनुहार लगाइन्, कता कता नरमाइलो लागेको थियो उनलाई पनि तर व्यक्त गर्न भने सकेकी थिइनन्, केही बोलिनन् उनी। त्यसपछि अलिकति जान गरेको मन पनि मर्यो । साथी र विद्यालय त्यसमा पनि सुस्मितालाई छोडेर अन्त जाने मन हरायो तर घरबाट पठाउने हुन् कि भन्ने संशय भने मनमा रहिरह्यो ।
यसैबिच बुबाले त्यहीँ कक्षा ५ मा भर्ना गर्दिने हुनुभयो, धेरै खुसी लाग्यो गाउँ छोड्नु नपरेकोमा । ढुक्क भएँ सँगै खुसी पनि । साथीहरूले त सोधी नै रहे तर पनि अनेक कुरा गरेर टारेँ । कक्षा ५ मा पढाइ सुरु भयो । पुस्तकहरू पनि ल्याइयो । पढाइ निरन्तर चली नै रह्यो । हामीबिचको सम्बन्ध अझै प्रगाढ बन्दै गयो।
“पर्सि अब सहर हिँड्नुपर्छ कान्छो !उतै बसेर पढ्नुपर्छ, मैले बस्ने व्यवस्था पनि गर्दिएको छु। राम्रो छ” एक दिन बुबाले भन्नुभयो । म झसङ्ग भएँ । ५ मा भर्ना भइसकेपछि जान नपर्ने भएर ढुक्क भएको म एकाएकको निर्णयले तनावमा परेँ। जान्न भनौँ पहिल्यै जान्छु भनेको छु, जान्छुँ भनौँ गाउँ, स्कुल, साथीभाइ र सुस्मितासंगको टाढिने कुराले पिरोल्छ। यही छटपटी र मानसिक तनावकै बिच रातभर राम्रोसँग निद्रा लागेन। उठे! हातमुख धोएर खाना खाएँ अनि स्कुल हिडें । खाना खासै रुचेन । खाली मनमा यिनै कुरा खेले खेलिरहे।
स्कुल पुगेँ नयाँ वर्ष, नयाँ कक्षा, नयाँ पाठ्यपुस्तक, कोही साथीहरू आफ्नो गाता र झोलाको चर्चा गर्दै थिए। कोही नेपाली विषयका कथा र कविताहरू चिच्याइ चिच्याई पढ्दै थिए । म भने विच्छिप्त थिएँ । कुनै उत्साह थिएन, जाँगर थिएन चुपचाप बसेँ पछिल्लो बेन्चमा।
पाले दाइले घण्टी बजाए टिफिनको । सबै हुरुरु निक्लिए बाहिर। म पनि निक्लिएँ बिस्तारै। ढोकाको छेउमै उभिएकी रहिछिन् उनी। हातमा केही राखिदिइन् र दौडिइन्। कापीको पन्नामा पट्याइएको थियो कुनै चिज। खुलदुली भयो के होला ? त्यसमा पनि मलाई मन पर्ने मान्छेले दिएको कागज । वरिपरि साथीहरू थिए। खोल्ने आँट गरिन साथीहरूले जिस्काउँछन् कि भनेर। किताब भित्र सुरक्षित राखेँ। अरू किताब हराए पनि त्यो नहराओस् भन्ने कामना गर्दै निक्लिएँ बाहिर अनि बसेँ चौरको डिलमा।
फर्किने बेलामा आफू भोलि सहर जान लागेको कुरा सुनाएँ। उनले नरमाइलो मान्दै भनिन् –
“५ मा भर्ना गरिसकेपछि किन उता जानुपर्यो जाँदिन भन न बुबालाई “म चुप लागेँ। सहर गए पनि नबिर्स है लक्षु ! भनिन् म भावुक भएँ । उनी बोलिरहिन् । अन्तिममा ‘यता आएको बेलामा भेट्दै गर्नु’ भन्दै मलिन अनुहार लगाइन्, छुट्टिएको इसारा गर्दै हात हल्लाउँदै लागिन् घरतिर म चुपचाप आफ्नो बाटो हिँडे मनमा तर्कना खेलाउँदै कति बेला घर पुगेँ थाहा भएन ।
मध्य सहरको बिच विद्यालयको होस्टेलमा बसियो। कक्षा ४ बाट फेरि पढाइ सुरु भयो। बिरानो ठाउँ, नयाँ साथी, नयाँ परिवेश, बाउआमा अझ सुस्मिताबाट टाढा हुँदा बस्नै गार्हो भयो । जति टाढा भयो त्यति बढी माया लाग्दो रहेछ आफ्नाहरूको । त्यहाँ गएपछि मात्र थाहा भयो पढाइ नसकिएसम्म घर जान नपाइने रहेछ । माध्यमिक तह पूरा गर्न पूरा ७ वर्ष लाग्ने । ७ वर्ष सम्म यही कसरी बिताउने होला ? सम्झिएरै आत्तिए एक छिन । एउटा अग्लो घर, लगत्तै स्कुल, सानो कम्पाउन्ड बन्दी गृहको बन्दी जस्तै सम्झिएँ आफूलाई। घरमा स्वतन्त्र हिँडेको, बा आमालाई जितेर खाएको, बिहान ८ बजेसम्म सुतेको, गाउँ गाउँ डुलेको सबै सम्झनामा सीमित भए अब।
कडा नियम र अनुशासन, सानो गल्तीमा पनि यातना सामान्य नै थिए। बिहान उठ हातमुख धोऊ, नित्यकर्म गर खाजा खाऊ एक छिन बस विद्यालय जाऊ फेरि आएर एक्छिन्, खेल अनि खाना खाएर होमवर्क गर सुत यसरी नै बिते दिन महिना र वर्षहरू । सोचेको थिइन वर्षौँ आफ्नाबाट टाढिएर बस्न सकिन्छ तर मानिस परिस्थितिमा भिज्न सक्दो रहेछ। आफूलाई वातावरण अनुसार ढाल्न सकिंदोँ रहेछ ।
होइन कति साथीहरू स्मृतिबाट हराए, घर बिर्सिन थालियो, गाउँका चित्रहरू धूमिल हुँदै थिए मानसपटलबाट तर सुस्मिता उसै गरी थिइन स्मृतिमा । अन्तिम भेटमा हात हल्लाउँदै मलिनो अनुहारले बाई भनेको चित्र अहिले पनि घुमिरहन्छन् आँखा अगाडि ।
शनिवारको दिन साबुन किन्न गएँ पसल फिर्ता आयो पैसा,१० को केही लेखेको जस्तो लाग्यो। ध्यान दिएर हेरेँ पैसामा लेखिएको रहेछ :-“i love you smarika, S+A”।
अहो झसङ्ग भएँ । S अल्फाबेट देख्ने बित्तिकै। सुस्मिता लाई सम्झिएँ।
कता कता मलाई पनि त्यसै गरी नोटमा उनको र मेरो नाम लेखेर छोड्न मन लाग्यो। अनि लेखेँ कुनै दिन उनले त्यो नोट भेटेको कल्पना गर्दै। कति खुसी हुन्छिन् होला,मैले जस्तै याद गरिरहेकी त होलिन् उनले पनि ।
यस्तै यस्तै सोच्दै वर्षहरू बिते घर जान पाउने कुरो थिएन। मोबाइल, कम्प्युटर, इन्टरनेट कुनै पहुँचमा थिएनन्। एसएलसी नसकेसम्म सम्पूर्ण चिज प्रतिबन्धित थिए। म सँग यादहरूबाहेक अरू कुनै थिएनन् घर,समाज,परिवार र सुस्मिताको । अरू केही नभएपछि याद नै सब थोक हुँदो रहेछ।
यसरी नै समय क्रम आफ्नै गतिमा बगी रह्यो । माध्यमिक तहको परीक्षा सकियो। रिजल्ट उत्कृष्ट नै भयो। माध्यमिक तह सकिएपछि केही खुकुलो भइयो।घर आऊ जाऊ गर्न र मोबाइल बोक्न पाइने भयो। इन्टरनेट आफ्नो पहुँचमा भयो । त्यसपछि मैले सुस्मितालाई स्मृतिमा खोज्नु परेन।अब नयाँ तरिकाले खोज्न सुरु गरेँ। फेसबुकमा सर्च गरेँ । नामको लिस्ट त आयो तर अनुहार पत्ता लागेन। उनको अनुहार चिन्न नसकेकोमा धिक्कारेँ आफूलाई।
धेरैपछि पुरानो साथीको फेसबुकवालमा एउटा पोस्ट देखेँ
युवतीको फोटो,त्यसमाथि लेखिएको थियो :-
जन्मदिनको शुभकामना सुस्मिता,
साथै उत्तरोत्तर प्रगतिको कामना …..with-susmita
उनै सुस्मिता हुनुपर्छ भन्ने अड्कल काटेँ र दौडिएँ प्रोफाइलतर्फ। जन्मदिन रहेछ उनको।आफ्नो विद्यालयको नाममा ‘कालिका माध्यमिक विद्यालय’ राखेकी रहिछिन्। अब ढुक्क भएँ मैले खोजेको सुस्मिता, मैले मन पराएको सुस्मिता, मेरी सुस्मिता यिनी हुन् । किसिम किसिमका फोटो हालेकी रहिछिन् । सुन्दर मुहार, चिटिक्क परेको शरीर,सलक्क परेको लामो कपाल, पुष्ट बक्ष र नितम्ब, लाम्चा र ठुला आँखा, मिलेका दन्त लहर । यो सुस्मिता र त्यो सुस्मिता बिलकुल फरक। बदलिइछिन् उनी त।
हेल्लो के छ खबर ? मैले म्यासेज पठाएँ,
ठिकै छ, अनि हजुरको? उत्तर आयो उताबाट। चिने झैँ बोलिन्। असाध्यै खुसी भएँ,वर्षौँपछि आज सुस्मितासंग बोल्न पाएकोमा।
कुरा चल्दै गयो।
के गर्छौ आजकल ?
–केही छैन पढ्यो घरमा बस्यो त्यही हो ।
अनि घरपरिवारमा के कस्तो छ ?
-ठिक छ । सबै जना आरामै हुनहुन्छ।
पढाइ कुन लेभलमा पुग्यो ??
– प्लस टु गर्दै छु ।
यस्तै यस्तै कुराहरू भए। केही समयको संवादपछि उनले अलिक असहज मानेको जस्तो लाग्यो । तर पनि कुरा चल्दै गयो । केही समयपछि मैले प्रश्न गरेँ :-
फेसबुक खोलेपछि मलाई सम्झेनौ है ? मैले कत्ति खोज्दा पनि भेटिन तिमीले रिक्वेस्ट पठाउन सक्थ्यौ नि ?
केही जवाफ आएन मैले फेरि लेखेँ घुर्क्याउने हिसाबले :
कति निष्ठुरी हुने मान्छे पनि ?
एक छिनपछि जवाफ आयो – को हो र तपाईँ ? मैले त चिनिन नि । उनी जिस्केझैँ लाग्यो र भनेँ ‘त्यही त महारानी, म लक्ष्मण क्या..।’ को लक्ष्मण ? रियल्ली ! मैले चिनिन। मैले पहिलाका घटना सम्झाएँ अझै चिनिनन् वा चिन्ने प्रयास गरिनन् ।
म छाँगाबाट खसे झैँ भएँ, सुनसान जस्तो लाग्यो सारा जगत । अनेक कुराहरू कल्पिन थाले मनले। अहो ! रूप मात्र हैन सबै तरिकाले फेरिइछिन् उनी । यति चाँडै बिर्सिइन् त मलाई ? सहरको रङ्गीन दुनियाँमा छिरेपछि बिर्सिइछिन् कति सजिलै । सायद जीवनकै नरमाइलो, शून्य र रङ्गहीन समय पहिलो पटक भोगेँ मैले ।
उनीप्रति घृणा पनि जाग्यो। तर गल्ती मेरै हो।मायाको अर्थ नबुझी वास्तविकतालाई ननियाली एकोहोरिनु ।
मनमा अनेक कुरा खेल्दै थिए। यही क्रममा फर्किएँ पछाडि अनि सम्झिएँ अन्तिम भेटमा दिएको कागज ।
हतार हतार खोलेको थिएँ प्रिय व्यक्तिले दिएको कागज । मनले लभ लेटर हो भन्दै थियो तर सधैँ आफ्नै कल्पना नै अन्तिम सत्य हुँदैन । “निशाना” फिल्मको पोस्टकार्ड रहेछ।पछाडि लेखिएको थियो :-
मिठो सम्झना,साथै नयाँ वर्षको शुभकामना प्यारो साथी लक्ष्मण, तिम्रै साथी सुस्मिता,
त्यहाँ तारा टिपेर ल्याउने कुरा थिएन, कुनै साहित्यकारका झैँ प्रेमिल शब्दयुक्त सायरीहरू थिएनन्, कुनै समर्पण थिएन, आश्वासनहरू थिएनन्। त्यो प्रेम पत्र होइन तर पनि मलाई प्रेम पत्र झैँ लाग्छ। जीवनको पहिलो र अन्तिम दुवै हो त्यो । सुरक्षित राखेको थिएँ पढ्ने किताबको बिचमा । सुरक्षित छ आजसम्म पनि ।
बेला बेलामा हेर्छु अनि प्रश्न गर्छु के अहिले कि सुस्मिता साँच्चै सुस्मिता हो त ? त्यही सुस्मिता हो भने कति चाँडै बिर्सिएकी जीवनको स्वर्णिम काललाई ? के साँच्चै नचिन्ने भइन् त सुस्मिताले मलाई ? अन्तिम भेटमा “सहर गए पनि मलाई नबिर्स है लक्षु!” भन्ने सुस्मिताले आखिर आफैँले बिर्सिई ।
गुनासो एक रत्ती पनि छैन उनीसंग । प्रश्नहरू भने अनेक छन् मनमा । थाहा छ जीवनभर अनुत्तरित नै रहनेछन् ती प्रश्नहरू तर पनि उत्तर खोज्दिन । किन कि उत्तर भन्दा प्रश्नहरू प्यारा हुन्छन्। प्रश्नले उत्साहको दियो बोकेको हुन्छ तर उत्तर निराशाको हुरी बनेर आउँछ। सुस्मिता मेरो जीवनकी एक अनुत्तरित प्रश्न हुन् अनि उत्तरविहीन प्रश्न पनि …।